काठमाडौंमा ग्यास आपूर्ति सहज बन्दै, दैनिक मागभन्दा १०% बढी वितरण

1.3K
shares

काठमाडौं । नेपाल आयल निगम का अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गएको छ।
निगमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज उपत्यकाका २४ वटा ग्यास बोटलिङ प्लान्टमार्फत कुल ४५ हजार ८८८ सिलिन्डर बजारमा पठाइएको छ। यो परिमाण उपत्यकाको दैनिक औसत मागभन्दा करिब १० प्रतिशतले बढी रहेको निगमले जनाएको छ।
आपूर्तिमा नेपाल ग्यास उद्योग अगाडि देखिएको छ। बालाजुस्थित यस उद्योगले मात्रै १० हजार ३० वटा सिलिन्डर बजारमा पठाएको छ। त्यस्तै, श्री ग्यास उद्योगले ४ हजार ४९८, एभरेष्ट ग्यासले ४ हजार २६ र सीता श्री ग्यासले ३ हजार ४२२ सिलिन्डर वितरण गरेका छन्।
अन्य उद्योगहरूमध्ये सगरमाथा ग्यासले ३ हजार २१७, सूर्य ग्यासले २ हजार ६६१ र उग्रचण्डी ग्यासले ३ हजार ४२२ सिलिन्डर बजारमा पठाएका छन्। त्यसैगरी, सुगम ग्यासले २ हजार ८२०, मेट्रो काठमाडौंले २ हजार ४४८, ओम ग्यासले १ हजार ८१५ र श्रीकृष्ण ग्यासले १ हजार ८१० सिलिन्डर आपूर्ति गरेका छन्।
यसैबीच, हिमालय पेट्रो केमिकल्सले ३ हजार १०४ र साई बाबा ग्यासले २ हजार ४५० सिलिन्डर बजारमा पठाएका छन् भने भानु ग्यास र गीता ग्यासले क्रमशः ९५५ र ५७४ सिलिन्डर वितरण गरेका छन्। अन्य उद्योगहरू जस्तै बाबा ग्यास, गौरी शंकर, केब्सन्स र मनोज ग्यासले पनि आपूर्ति बढाएका छन्।
हाल सबै ग्यास उद्योगहरूले सरकारी निर्देशनअनुसार आधा (७.१ केजी) मात्र ग्यास भरेर सिलिन्डर बजारमा पठाइरहेका छन्। दैनिक मागभन्दा बढी आपूर्ति भएकाले उपत्यकामा ग्यास अभावको समस्या क्रमशः हट्दै जाने अपेक्षा गरिएको छ।

Screenshot
civil hospital
Hams Hospitals