सानिमा बैंकलाई दिएको क्रेडिट रेटिङ फिर्ता: लगानीकर्तालाई ठूलो झड्का
वि.सं.२०८२ चैत ८ आइतवार
shares
काठमाडौं । इक्रा नेपाल लिमिटेडले सनिमा बैंक लिमिटेडलाई दिएको निक्षेपकर्ता तथा ऋणपत्रसम्बन्धी रेटिङ फिर्ता लिएको छ। सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार बैंकको इश्युअर रेटिङ [ICRANP-IR] A-@ withdrawn गरिएको छ भने बैंकअन्तर्गतका दुई वटा अधीनस्थ ऋणपत्रको रेटिङ पनि फिर्ताको सूचनामा राखिएको छ।
इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार करिब १ अर्ब ३५ करोड ५० लाख रुपैयाँ बराबरको अधीनस्थ डिबेन्चर र ३ अर्ब ५ करोड २० लाख रुपैयाँ बराबरको अर्को अधीनस्थ डिबेन्चरको [ICRANP] LA-@ रेटिङलाई ‘notice for rating withdrawal’ मा राखिएको हो।
यो निर्णयसँगै सनिमा बैंकमाथि दिइँदै आएको बाह्य क्रेडिट मूल्यांकनको विश्वसनीयता, निरन्तरता र पारदर्शितामाथि प्रश्न उठेको छ। कुनै बैंकको रेटिङ फिर्ता हुनु सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई त्यसले बजारमा संस्थाको अवस्थाबारे गम्भीर सन्देश प्रवाह गर्ने गर्छ। विशेषगरी निक्षेपकर्ता, लगानीकर्ता र ऋणपत्रधनीका लागि यस्तो कदमलाई चासोका साथ हेरिन्छ।
इक्रा नेपालले [ICRANP-IR] A-@ र [ICRANP] LA-@ श्रेणीले समयमै वित्तीय दायित्व पूरा गर्ने पर्याप्त सुरक्षा जनाउने उल्लेख गरे पनि ‘@’ संकेतले प्रतिकूल प्रभावसहितको सूक्ष्म निगरानी जनाउने स्पष्ट पारेको छ। अर्थात्, रेटिङ दिइएको अवस्थामा समेत संस्था पूर्ण रूपमा दबाबमुक्त अवस्थामा थिएन भन्ने संकेत यसले दिन्छ।
यद्यपि रेटिङ एजेन्सीले यो राय कुनै खास ऋणपत्र किनबेच, स्वामित्व वा मूल्य निर्धारणसम्बन्धी सिफारिस नभएको स्पष्ट पारेको छ। तर बैंकजस्तो वित्तीय संस्थाको रेटिङ फिर्ता वा फिर्ताको प्रक्रियामा जानु आफैंमा सामान्य विषय होइन। यसले नियामकीय, संस्थागत तथा बजार विश्वासका कोणबाट थप बहस जन्माउने देखिन्छ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त सूचना २०८२ मंसिर ६ गते जारी गरिएको हो। सनिमा बैंकका तर्फबाट यस विषयमा औपचारिक धारणा आएको छैन। बैंकले रेटिङ किन फिर्ता गरायो, वा रेटिङ एजेन्सी किन यस्तो निष्कर्षमा पुग्यो भन्ने प्रश्न अहिले खुला नै छ। यिनै प्रश्नको जवाफ नआएसम्म यो विषयलाई सामान्य प्राविधिक अद्यावधिक भनेर टार्न मिल्ने अवस्था छैन।





























