काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ
वि.सं.२०८२ चैत १७ मंगलवार
shares
काठमाडौँ । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले उनलाई मंगलबार बिहान सुविधानगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार उनलाई सोधपुछका लागि हिरासतमा राखिएको छ।
भदौ २३ र २४ गते भएको तथाकथित ‘जेन्जी प्रदर्शन’ प्रकरणमा गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो। उक्त घटनाका समयमा उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए।
आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै सो घटनामा संलग्न उच्च तहका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। यसअघि नै केपी शर्मा ओली र रमेश लेखक लाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरू दुवै जनामाथि उक्त प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, सुरक्षात्मक कमजोरी तथा राज्य संयन्त्रको दुरुपयोगसम्बन्धी आरोप लागेका छन्।
प्रहरीले यस प्रकरणमा थप अनुसन्धान जारी रहेको जनाएको छ। आवश्यक प्रमाण संकलन तथा बयानका आधारमा अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्न सकिने संकेत गरिएको छ।
सरकारले भने घटनालाई गम्भीर रूपमा लिँदै दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याइने स्पष्ट पारेको छ। साथै, आयोगको सिफारिस कार्यान्वयन गर्ने विषयमा सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको बताइएको छ।
उक्त ‘जेन्जी प्रदर्शन’ का क्रममा व्यापक तोडफोड, आगजनी तथा सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो, जसले देशव्यापी रूपमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको थियो। अहिले उक्त घटनालाई लिएर राजनीतिक र कानुनी दुवै क्षेत्रमा तीव्र बहस जारी छ।




























