भेपभित्र लुकाइएको साढे ८ किलो सुन प्रकरणमा महरा परिवारमाथि अख्तियारको कारबाही
वि.सं.२०८२ चैत २६ बिहीवार
shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेपमार्फत सुन तस्करी र भ्रष्टाचार गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, राजनीतिक व्यक्तिहरू र तस्करहरूको मिलेमतोमा करिब साढे ८ किलो सुन चोरी–निकासी तथा हिनामिना गरिएको निष्कर्ष निकालेको छ ।
२०७९ पुस १० गते दुबईबाट आएको फ्लाई दुबईको उडानमार्फत चिनियाँ नागरिक लि हाङ सोङले दुईवटा सुटकेसभित्र ७३० थान भेप ल्याएका थिए । भन्सार जाँचका क्रममा एक्स–रे मेसिनले शङ्कास्पद वस्तु देखाएपछि ती भेप जफत गरिएको थियो ।
पछि अनुसन्धान गर्दा ती भेपभित्र ८ हजार ४८० दशमलव ५१७ ग्राम सुन लुकाएर ल्याइएको खुलेको थियो । तर, भन्सारका कर्मचारी र राजनीतिक पहुँच भएका व्यक्तिहरूको मिलेमतोमा उक्त सुन भएको भेपलाई सुरक्षित राख्नुको साटो गोदामबाटै गायब बनाइएको आरोप छ ।
अख्तियारका अनुसार भेपभित्र रहेको सुनलाई अन्य सामानसँग सट्टापट्टा गरी अवैध रूपमा बिक्री वितरण गरिएको थियो ।
अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले चिनियाँ तस्करहरूसँग अस्वाभाविक रूपमा टेलिफोन सम्पर्क गरेको तथा भन्सार कर्मचारीहरूलाई प्रभावमा पार्न खोजेको देखिएको अख्तियारको दाबी छ ।
यस मुद्दामा तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, राहुल महरा चिनियाँ नागरिक दाओजिन वाङ र लोकेन्द्र पौडेललगायतलाई प्रतिवादी बनाइएको छ ।
यसअघि पाटन उच्च अदालतले महरालाई धरौटीमा छाड्न आदेश दिएको थियो भने काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।




























