देश घुमाउने’ बहानामा लाखौँ ठगी: स्काई वाल्क टुर्सका सञ्चालक पक्राउ, डिजिटल जालोमार्फत १६ लाखभन्दा बढी असुली

261
shares

काठमाडौं । सामाजिक सञ्जालमा ‘सस्तोमा विदेश भ्रमण’को प्रलोभन देखाएर सर्वसाधारणलाई ठग्ने गिरोहको पर्दाफास भएको छ। स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालि का सञ्चालक निर्दोष सापकोटा लाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई सोमबार पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानले देखाएअनुसार सापकोटाले फेसबुक, टिकटक र इन्ट्राग्राम मार्फत आकर्षक ‘विदेश टुर प्याकेज’ प्रचार गर्दै सर्वसाधारणलाई जालमा पार्दै आएका थिए।

विशेषगरी ‘थाइल्याण्ड एक हप्ते सस्तो भ्रमण’ भन्दै लोभलाग्दा अफर सार्वजनिक गरिन्थ्यो। ‘सीमित सिट’ को दबाब सिर्जना गर्दै तत्काल बुकिङ गर्न उक्साउने र रकम जम्मा गराएपछि सम्पर्कविहीन हुने शैली अपनाइएको प्रहरीले जनाएको छ।

हालसम्म २६ जनाले उजुरी दिएका छन् भने १६ लाख ६० हजार रुपैयाँभन्दा बढी ठगी भएको पुष्टि भएको छ। तर पीडितको संख्या अझ बढ्न सक्ने संकेत प्रहरीले दिएको छ।

प्रहरीले सापकोटाको मोबाइल, ल्यापटप र बैंक कारोबार विवरणसमेत जाँच गरिरहेको छ। डिजिटल माध्यम प्रयोग गरी कसरी योजनाबद्ध ठगी गरिएको थियो भन्नेबारे गहिरो अनुसन्धान जारी छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना तीव्र रूपमा बढ्दै गएका छन्। विशेषगरी विदेश भ्रमण, रोजगारी र अध्ययनका नाममा ‘आकर्षक अफर’ देखाएर सर्वसाधारणलाई फसाउने प्रवृत्ति खतरनाक बन्दै गएको छ।

हाल सापकोटामाथि ठगी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ। अनुसन्धान सकिएपछि मुद्दा दर्ता गरी अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals