नबिल बैंकको स्पष्टिकरण: ‘ग्राहक गोपनीयता भंग’ आरोप भ्रामक र आधारहीन

159
shares

काठमाडाैं । नबिल बैंक लिमिटेडले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको ग्राहक गोपनीयता भंगसम्बन्धी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती सूचना भ्रामक, आधारहीन र प्रमाणविहीन भएको जनाएको छ। बैंकले यस्ता दुष्प्रचारले समग्र बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने उद्देश्य राखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बैंकले २०८३ वैशाख ९ गते प्रकाशित एक समाचारप्रति लक्षित गर्दै उक्त सामग्रीमा उल्लेखित बैंकिङ कारोबार विवरण “अनुसन्धानरत निकायबाट प्राप्त” भएको भनी स्रोत खुलाइएको भए पनि त्यस तथ्यलाई बेवास्ता गर्दै केही व्यक्तिहरूले बैंकविरुद्ध नियोजित रूपमा गलत प्रचार गरेको आरोप लगाएको छ।

नबिल बैंकका अनुसार कुनै पनि ग्राहकको व्यक्तिगत वा वित्तीय विवरण ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रिया पूरा गरी माग गर्ने नियामक तथा अनुसन्धान निकाय बाहेक अन्य कसैलाई उपलब्ध गराइँदैन। बैंकले आफ्नो कोर बैंकिङ प्रणालीमा ग्राहक विवरण कसले, कहिले र किन पहुँच गर्‍यो भन्ने सम्पूर्ण अभिलेख सुरक्षित रहने व्यवस्था रहेको समेत स्पष्ट पारेको छ।

‘क’ वर्गको वाणिज्य बैंकका रूपमा आफूले प्रचलित कानुन, नियमन तथा आन्तरिक नीतिहरूको पूर्ण पालना गर्दै आएको उल्लेख गर्दै बैंकले ग्राहक गोपनीयताको संरक्षणमा उच्च प्राथमिकता दिँदै आएको जनाएको छ। चार दशकभन्दा लामो आफ्नो विश्वसनीय इतिहासलाई स्मरण गराउँदै बैंकले अनधिकृत व्यक्तिलाई ग्राहक विवरण हस्तान्तरण हुने सम्भावना नरहेको दाबी गरेको छ।

यसैबीच, बैंकले तथ्यहीन तथा भ्रामक सूचना फैलाउने व्यक्ति वा निकायलाई यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। यस्ता कार्य जारी राखे विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि बैंकले दिएको छ।

नबिल बैंकको उक्त स्पष्टिकरणपछि सामाजिक सञ्जालमा फैलिएको सूचना र वास्तविकता सम्बन्धी बहस थप चर्किने देखिएको छ। बैंकले भने ग्राहकको विश्वास र डेटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

civil hospital
Hams Hospitals