एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा साढे १३ अर्बभन्दा बढी ऋणात्मक

249
shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा गिरावट आएको जनाएको छ ।

बैंकले नौ महिनामा १४ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १५ करोड ६७ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी घटेपछि नाफामा गिरावट आएको बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.५३ प्रतिशतले बढेको छ ।

त्यस्तै कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशतले घट्दा सञ्चालन मुनाफा ४७.८६ प्रतिशतले खुम्चिएको छ । इम्पेयरमेन्ट चार्ज भने ३ अर्ब ५ करोडबाट घटेर २ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ ।

नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी १६ पैसाले घटेर १ रुपैयाँ २५ पैसामा झरेको छ । चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको मूल्य–आम्दानी अनुपात २९२.०४ गुणा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा रहेको छ ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्म बैंकले ३ खर्ब ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

civil hospital
Hams Hospitals