विकास बैंकहरुकाे नाफा ४९ प्रतिशतले बढ्यो, कुन बैंकले कति नाफा कमायो?

294
shares

काठमाडौं राष्ट्रियस्तरका विकास बैंकहरूको नाफा उल्लेख्य रूपमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म ८ वटा विकास बैंकले कुल ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको साेही अवधिसम्म बैंकहरुले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा करिब ४९ प्रतिशतले बढी हो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक अगाडि रहेको छ।

चालु वर्षको चैतसम्म गरिमा विकास बैंकले १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४२.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यहीअवधिसम्म गरिमाले ७३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यसैगरी धेरै नाफा कमाउने दोस्रो विकास बैंकमा मुक्तिनाथ रहेको छ। समीक्षा अवधिसम्म मुक्तिनाथले ९४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले ७८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो।

यसैगरी चालु वर्षको चैतसम्म ज्योति विकास बैंकले ६२ करोड ९४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ४५ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

अघिल्लो वर्षको तुलनामा ज्योतिको नाफा १०५.३० प्रतिशत, कामना सेवाको १९.३७ प्रतिशत, लुम्बिनीको १०२८.२६ प्रतिशत, सांग्रिलाको ११.५९ प्रतिशत र महालक्ष्मीको ५.३६ प्रतिशतले बढेको छ।

civil hospital
Hams Hospitals