उप्रेतीका केहि हाइकुहरू

129
shares

 

तोमनाथ उप्रेती

१।
कानुन चम्किन्छ
न्यायको हड्डी कुहिन्छ
झण्डा फहरिन्छ।

२।
सीमा निदाउँछ
नक्सा आँसु झार्छ
नारा मात्र जाग्छ।

३।
नक्कली जरा
नदीकिनार कब्जा
सत्य विस्थापित।

४।
फुटपाथ घुट्छ
अतिक्रमणको साम्राज्य
हिँडाइ हरायो।

५।
विद्यालय भित्र
सत्ताको पाठ पढिन्छ
ज्ञान मौन बस्छ।

६।
घडी थाक्छ दिन
कार्यालय निदाउँछ
समय हार्छ फेरि।

७।
दलीय ढोका
नागरिक छायाँ बने
पहिचान हरायो।

८।
टुटेका ऐना
प्रगति भनेर सज्छन्
सत्य लजाउँछ।

९।
युनियन गर्जन
जन्जिरलाई अधिकार भन्छ
श्रम कैद हुन्छ।

१०।
दलालको चिया
डोरी तान्छ अदृश्य हात
न्याय बिक्रीमा।

११।
मेयरको छाया
जनता घाँसझैँ झुक्छन्
हावा दलीय छ।

१२।
सुधारका शब्द
खाली सूट लगाएर
अर्थ हराउँछ।

१३।
सहर उज्यालो
अँध्यारो सम्झौता गर्छ
नीयनले ढाक्छ।

१४।
आकाश हाँस्छ
कंक्रिटले निल्छ जमीन
लोभ नक्सा कोर्छ।

१५।
सत्य फुसफुस
माइकले बेच्यो कथा
प्रतिध्वनि जित्छ।

१६।
फाइलमा धूलो
वाचा हरायो झुटमा
इतिहास उब्छ।

१७।
वर्दी काँप्छ
कानुन झुक्छ प्रभावमा
सन्तुलन बिक्री।

१८।
मौन विद्रोह
विचार जेल भित्र
स्वतन्त्रता काटियो।

१९।
शक्ति मीठो छ
गल्ती मखमली मुकुट
सडन सुगन्धित।

२०।
देशको सपना
विदेशमा हराउँछ
घर विरोधाभास।

२१।
नक्कली जरा
माटोबिनै फैलिन्छ
अधिकार हरायो।

२२।
आवाज सस्तो
सिद्धान्त राखिन्छ
नैतिकता छुट।

२३।
अराजक सहर
नियम निदाउँछ
अराजक सूटमा।

२४।
जग्गा सोध्छ
“म आज कसको हुँ?”
प्रतिध्वनि हस्ताक्षर।

२५।
आलोचना बन्द
विरोध देशद्रोह ठानिन्छ
मौन पदोन्नति।

২৬।
नेता बिहान
तर रात जोगाउँछन्
आशा कर लाग्छ।

२७।
प्रणाली मुस्कान
दाँत भित्र तीखा छन्
न्याय नाङ्गो छ।

२८।
युवा घुम्छन्
नारा घेराभित्रै
भोलि बाहिर छ।

२९।
कानुन धुवाँ
हावाले आयु तोक्छ
सत्य साक्षी छैन।

३०।
सिसा टावर
जरा चिरिएको तल
अहं उचालिन्छ।

३१।
भीड नारा
सोच झण्डामा बेच्छ
दिमाग रंगिन्छ।

३२।
नातावाद फूल
परिवारमै शक्ति फल्छ
जरा घोंटिन्छ।

३३।
सुनौला भाषण
कामको खेत बाँझो
देश खडेरीमा।

३४।
फाइल ध्यानमा
चल्न घुस चाहिन्छ
गति किनिन्छ।

३५।
यथार्थ मोडिन्छ
कथा दिन लेखिन्छ
तथ्य शरण खोज्छ।

३६।
अदृश्य जन्जिर
मञ्चमा स्वतन्त्रता
पछाडि बाँधिएको।

३७।
ढोका पहरा
कानुन होइन अनुहार
डर सास फेर्छ।

३८।
जनताको स्वर
चिया गफमै सीमित
नीति निदाउँछ।

३९।
अतिक्रमण बस्छ
राज्य मूर्ति जस्तै
कानुन बिर्सन्छ।

४०।
शक्ति मीठो
जवाफदेही भोकै
न्याय कमजोर

४१।
भीड सडक
खुट्टा बचाउँछ जीवन
सहर आफैं खान्छ।

४२।
सत्य रोकिन्छ
ढोकाले दलीय सोध्छ
तथ्य अस्वीकार।

४३।
संस्था हरायो
प्रतीक मात्र बाँकी
खोक्रो स्तम्भ।

४४।
संविधान लेख्छ
मसी मौन सहमति
जनता फुटनोट।

४५।
आन्दोलन अभिनय
क्यामेरा लागि क्रोध
परिवर्तन अड्कियो।

४६।
स्वर टुक्रिन्छ
एकता नारा बन्छ
विभाजन नाफा।

४७।
निष्ठा पुरस्कार
योग्यता पर्खन्छ बाहिर
मेरिट भिखारी।

४८।
देशको मुखौटा
ऐना आँखा जोगाउँछ
पहिचान धुमिल।

४९।
प्रणाली खान्छ
नागरिक परिकार
लोकतन्त्र थाल

५०।
सिङ्गापुर सपना
यथार्थ धुवाँ र नारा
व्यङ्ग्य शासन गर्छ।

 

civil hospital
Hams Hospitals