अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
वि.सं.२०८३ जेठ १ शुक्रवार
shares
काठमाडौं । दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । हरेक वर्ष मे १५ तारिखका दिन यो दिवस मनाइन्छ । एउटा व्यक्तिको जीवनमा परिवारको भूमिका र महत्त्वलाई स्मरण गरी दिवस मनाउने गरिएको छ ।
सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा संयुक्त राष्ट्रसङ्घले विशेष ध्यान दिन थालेको भए पनि आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले सन् १९८३ मा ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न महासचिवलाई आग्रह गरेको थियो ।
राष्ट्रसङ्घका अनुसार सन् १९८५ मा परिषद्ले महासभालाई ‘विकास प्रक्रियामा परिवार’ शीर्षकलाई आफ्नो कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो । त्यसपछि सदस्य राष्ट्रका धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था र कल्याण सुधार गर्ने तथा सामाजिक विकासका लागि अन्तरराष्ट्रिय सहकार्य बढाउने पहल अघि बढाइएको थियो ।
महासभाले सन् १९८९ मा ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो । त्यसपछि सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तरराष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो ।





























