सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत
वि.सं.२०८३ जेठ ५ मंगलवार
shares
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ (6th Emerging Asia Insurance Awards 2025) अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’ (Best Life Insurance Company of the Year – Nepal) बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्स (ICC) द्वारा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो।
आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको छ।
यो गरिमामय पुरस्कारले सिटिजन लाइफ इन्स्योरेन्सको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बीमाको पहुँच पुर्याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ।
यस ऐतिहासिक सफलताको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) ले भन्नुभयो, “आज यो ट्रफी र प्रमाणपत्र कम्पनीमा प्राप्त हुँदा हामी अत्यन्तै गौरवान्वित भएका छौँ। यो अन्तर्राष्ट्रिय सम्मान हाम्रा आदरणीय ग्राहक महानुभावहरूले हामीप्रति देखाउनुभएको अटुट विश्वास, हाम्रा प्रगतिका संवाहक अभिकर्ता साथीहरू र कर्मचारी वर्गको कडा परिश्रमको प्रतिफल हो। हामी यो पुरस्कार हाम्रा सम्पूर्ण सिटिजन परिवार र शुभचिन्तकहरूमा समर्पित गर्दछौँ।”
विगतका दिनहरूमा झैँ आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख-दुःखको सारथी बन्न सिटिजन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको छ।





























