गद्ध कविता : याद

144
shares

 

याद भन्ने चिज खै कस्तो रहेछ ?

बुझ्न गाह्रो

जति बुझ्यो झन साह्रो

भने झै डाक्नै पर्दैन्

हरबखत सल्बलाउँछ

सित्तैमा आउँछ |

 

समयको ख्याल छैन त्यसलाई

नत पाबन्दी छ

न रोक्न सकिन्छ

नत छेक्न नै

केवल आउँछ, घरि घरि

यादका तरङ्गहरू |

 

कस्तो अचम्म ?

कोशेली झै फिर्ता पठाउँन पाएँ नि हुँने

भरिया बोकाएर पठाउथेँ होला

ऊ मक्ख छ

अडिग छ हिमाल सरी

बालापन देखि कै छन्

ती यादका भकारी

जति उकालो चढ्यो

उति पछ्याउँदो रहेछ |

 

कति मिठा हुन् ती स्मृतिका पाना

घरिघरि पल्टाउँन मन लाग्छ | अटुट नाता छ

ऊ सङ्ग

खोतल्न मन लाग्छ

अतीतका ती रमाइला क्षण सम्झदा

तैरिन मन लाग्छ अनि आफूले आफैलाई भुल्न पनि

कति सजिलै ?

बेमौसमी वेतालमा दौड्न मन लाग्छ, यादका तरङ्गसँग |

 

 

कहिले तिम्रा ती याद छरपस्ट हुन्छन्

बाटो छेक्छन् अनि पसारो बन्छन् |

त कहिले त्यहीँ कठ्याङ्ग्रिदो हिउँदको

पुष माघ झै तुसारो बन्छ

गिज्याउँछ

रोक्छ खोज्छ अनि

अगाडि बढ्न नसक्ने तगारो बन्छ |

 

नयाँ भिजन, कार्यशैली

नवीनतम सोचलाई ठाडै चुनौती दिन्छ |

ती यादले

न भकारी भरिन्छ

न गुजारा नै चल्छ

न दान दिन मिल्छ

न टुङ्ग्याउँन

न घटाउँन सकिन्छ

न हटाउँन

नत भाउ बढाउँन नै

ती यादहरू सबैको मैजारो गर्न मन छ, तर कसरी ?

 

 

तिम्रा ती यादहरू फिर्ता लैजाऊ

न रङ्गिन कलाले भित्तामा सजाउँन मिल्छ |

तिम्रा ती यादहरू सङ्गालेर टेण्डर हाल्न मन छ

शेयर बजारमा

तर अफसोस

न खरिद बिक्री हुन्छ |

त्यसैले सधैंका लागि तिलाञ्जली दिन मन छ |

 

तर फेरि सोच्छु

ती याद नहुदा हुन् त

मान्छे के गर्दा हुन् ?

उसैको सहाराले जीवन कटाएका छन् कतिले ?

अनुभव साटेका छन् बाँचेका छन् अनि मुस्कुराएका पनि |

 

ऊ खुसी पार्न माहिर छ

अनौठो कला छ

डोर्याउँछ कहाँ कहाँ ?

चलाउँछ केवल अनुभूतिका लहरहरू

लैजान्छ जहाँ तहाँ ?

डुलाउँछ चारैतिर

ऊ चतुर पनि छ

दुरुस्तै पार्छ

देखाउँछ अनुभूतिका चित्र

मगज चलाउँन सिपालु छ |

 

 

ती मिठा याद ती स्मृतिका पाना,

अनुभवका, तितामिठा उकाली ओराली

सम्झिएर त आज कोही अनुभवी भए

त कोही निखारिए, तिखारिए

अनि परिपक्क कहलिए |

ती मिठा याद जीवन्त राख्न

मन छ

यादै यादको पहेलीले भरिएको जीवनमा हल्ला मुस्कुराउँन मन छ

केवल मुस्कुराउँन !!

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals