रामचन्द्र पौडेलद्वारा बकर इदको शुभकामना : राष्ट्रिय एकता र सद्भावमा जोड
वि.सं.२०८३ जेठ १४ बिहीवार
shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
मुस्लिम समुदायको महान् पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना दिँदै उनले विविध धर्म, संस्कृति र परम्पराले सम्पन्न नेपालमा यस्ता पर्वहरूले राष्ट्रिय एकता र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताए ।
राष्ट्रपति पौडेलले मुस्लिम समुदायले यस पर्वमा रिस, राग र द्वेषलाई बिर्सेर एकअर्कामा खुसी तथा शुभकामना आदानप्रदान गर्ने परम्परा नेपाली समाजका लागि प्रेरणादायी रहेको बताए । उनले खुलास्थल, इदगाह तथा मस्जिदमा नमाज अदा गरी हर्षोल्लासका साथ पर्व मनाइने परम्पराले सामाजिक एकतालाई अझ प्रगाढ बनाउने धारणा व्यक्त गरे ।
उनले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीबीच पनि धार्मिक तथा सांस्कृतिक विविधताका आधारमा आपसी सम्मान र भाइचाराको भावना बलियो बन्ने अपेक्षा समेत गरे ।
ईद–उल–अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबिच प्रेम, करुणा, त्याग, सहिष्णुता, भद्र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गरे ।






















