गणतन्त्रमा स्वतन्त्रता खोसियो, शासकहरूमा ‘महेन्द्र’ बन्ने भ्रम र आतङ्ककारी प्रवृत्ति देखियो : डा.गोपीलाल न्यौपाने

213
shares

 

काठमाडौं । राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले गणतन्त्र भनेको केवल व्यवस्था परिवर्तन मात्र नभइ जनताको पूर्ण स्वतन्त्रताको प्रत्याभूति गर्ने माध्यम भएको बताएका छन् । डा.न्यौपानेले गणतन्त्रमा जनताले बोल्ने स्वतन्त्रता (स्पिच फ्रिडम), आर्थिक स्वतन्त्रता (इकोनोमिक फ्रिडम), जीवन रक्षाको अधिकार र सम्पत्तिको अधिकार (प्रोपर्टी राइट) पाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘गणतन्त्र भनेको जनताको फ्रिडमको व्यवस्था हो । मान्छेलाई स्पिच फ्रिडम हुन्छ, इकोनोमिक फ्रिडम हुन्छ, लाइफलाई डिफेन्सको राइट हुन्छ र प्रोपर्टी राइट हुनुपर्छ । जुन नेपालमा अहिले छैन् । सरकारले चाह्यो भने जसको जग्गा पनि सिज गर्न सक्छ । प्रोपर्टी राइट भनेको कसैले पनि सम्पत्ति खोस्न नपाउने अधिकार हो, सरकारले पनि पाउँदैन। प्रोपर्टी राइट हामीसँग छैन ।’ नेपालमा यी कुनैपनि अधिकार सुरक्षित नभएको उनले उल्लेख गरे ।
उनका अनुसार सरकारले चाहयो जोसुकैको जग्गा वा सम्पत्ति पनि जफत गर्न सक्ने अवस्था हुनु भनेको सम्पत्तिको अधिकार नहुनु हो । अहिले ‘आइडियाको सप्रेसन’ (विचारको दमन) भइरहेको छ । कसैले फरक विचार राख्ने बित्तिकै उसलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट तथानाम गाली गरेर विचारलाई नै निमोठ्ने काम भइरहेको छ ।
उनले भने, ‘गणतन्त्रमा स्पिच फ्रिडमको राइट प्राप्त हुनुपर्छ । यतिबेला स्पिच फ्रिडम आइडियाको सप्रेसन हुन थालेको छ । विभिन्न माध्यममा आएका विषयलाई अर्को आइडिया नआओस् भनेर मान्छेहरूले गाली गर्छन् । गणतन्त्रमा आइडियाको सप्रेसन गर्न मिल्दैन । कानुनी शासन हुनुपर्छ ।’
गणतन्त्रमा कानुनी शासन हुनुपर्नेमा व्यवसायहरू सुरक्षित नभएको र सँधै आतङ्कित हुनुपर्ने अवस्थाले गणतन्त्रका आधारभूत मान्यताहरू नै नेपालमा स्थापित नभएको उनले बताए । त्यसैले साँचो गणतन्त्र ल्याउन अझै बाँकी रहेको उनले दाबी गरे ।
उनले भने, ‘प्रत्येक मान्छेले जुन व्यवसाय गर्न चाहन्छ, जसलाई मान्छेले जसको सर्भिस किन्छन्, जसको गुड्स किन्छन्, त्यो व्यवसाय प्रोटेक्टेड हुनुपर्छ, सुरक्षित हुनुपर्छ । कानुनले त्यसलाई सुरक्षा दिनुपर्छ । नेपालमा व्यवसाय सुरक्षित छैन । व्यवसायहरू आतङ्कित हुने स्थिति छ । त्यसैले गणतन्त्र आएपनि आधारभूत मान्यताहरू अहिले छैन । त्यसैले गणतन्त्र ल्याउन बाँकी छ ।’
नेपाली समाजले तत्काल रोजगारी, आर्थिक उन्नति र गरिबीबाट मुक्ति चाहेको छ । सम्पन्न देशका नागरिकले जस्तै नेपालीले पनि विश्वमा मान, सान र इज्जत खोजेका छन् । नेपाली जनता आफ्नै देशभित्र काम गर्न चाहन्छन् । जबसम्म राज्यले यी आधारभूत आवश्यकताहरू पूरा गर्न सक्दैन, तबसम्म गणतन्त्र सफल सक्दैन् ।
उनले भने, ‘नेपाली समाजमा इम्प्लोयमेन्ट चाहिएको छ, आर्थिक उन्नति चाहिएको छ, रोजगारी चाहिएको छ, गरिबी हट्नु परेको छ, र नेपालीहरूको मान र सान बढ्नुपरेको छ । सम्पन्न देशका नागरिकहरूले जुन मान, इज्जत र सम्मान पाउँछन्, त्यो सम्मान नेपाली जनताले पनि खोजेका छन् । त्यो गणतन्त्रले दिनुपर्छ ।’
उनले लामो समयसम्म विभिन्न वंश (मल्ल, लिच्छवि, गोपाल, ठकुरी र शाह)ले शासन गरेको नेपालमा अब फेरि राजतन्त्र वा शाह वंश फर्किने सम्भावना नरहेको बताए । उनले नागरिकले स्वतन्त्रताको स्वाद चाखिसकेपछि फेरि एउटै परिवारमा राज्यको सम्पूर्ण अधिकार केन्द्रित गर्ने कुरा असम्भव रहेको बताए ।
उनले भने, ‘नेपालमा लामो समयदेखि विभिन्न किसिमका राजाहरूले नेपालमा शासन गर्दै आए । कहिले मल्ल, कहिले लिच्छवि, कहिले गोपाल वंशी त कहिले ठकुरीहरूले राज गरे । अनेक किसिमका मान्छेहरूले शासन गरिरहेका छन् । किसिम किसिमका परिवारले शासन गर्दै आए र आफूलाई राजा भन्दै एउटा शासनलाई अगाडि बढाए ।’
नेपालमा शाह वंशीय राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै उनले समाज सँधै अगाडि बढ्ने भएकाले पुरानो शासन व्यवस्थामा फर्किन नसकिने तर्क गरे ।
उनले पछिल्लो समय केही समूहले फेरि शाहहरूको शासन ल्याउनुपर्ने आवाज उठाइरहेको उल्लेख गर्दै उनले नेपालमा अहिले त्यो सम्भव नभएकाले समाज भनेको अगाडि बढ्नुपर्छ, पछाडि फर्किनु नहुने बताए ।
उनका अनुसार लोकतन्त्र र गणतन्त्र ‘अटो करेक्सन’ अर्थात् आत्मसुधार गर्ने व्यवस्था हो । उनले भारत र अमेरिकाको उदाहरण दिँदै लोकतान्त्रिक प्रणाली दीर्घकालीन रूपमा टिकिरहेको बताए ।
उनले भने, ‘भारतमा लोकतन्त्र स्थापना भएको झण्डै एकसय वर्ष पुग्न लाग्यो । अमेरिकामा करिब ३०० वर्ष हुनलाग्यो । तर उनीहरूले लोकतान्त्रिक व्यवस्था फालेनन् । किनभने लोकतन्त्रले आफूलाई समयअनुसार सुधार गर्दै लैजान्छ ।’
उनले दुई तिहाइ बहुमत प्राप्त गर्दैमा संविधान संशोधन गरेर राजतन्त्र ल्याउन वा अधिनायकवाद लाद्न नसकिने बताए । विगतमा केपी शर्मा ओलीको दुई तिहाइको सरकारसमेत तासको महलजस्तै ढलेको उदाहरण दिँदै उनले नेपालमा सरकार फाल्न जनतालाई कुनै गाह्रो नरहेको स्मरण गराए ।
कालो चस्मा र कालो कोट लगाएर आफूलाई ‘राजा महेन्द्र’ जस्तै शक्तिशाली ठान्ने वर्तमान नेतृत्वको प्रवृत्तिलाई उनले ‘ह्यालुसिनेसन’ रहेको बताए ।
ज्ञानेन्द्र शाहले त अभ्यास गर्दा नसकेको अवस्थामा नयाँ महेन्द्र बन्ने दिवास्वप्न नदेख्न उनले सुझाव दिए । हिजो कांग्रेस र कम्युनिस्टको अकर्मण्यताका कारण निराश भएका जनताले विद्रोहस्वरूप अहिलेको शक्तिलाई भोट दिएपनि, त्यसलाई ‘ब्ल्याङ्क चेक’ सम्झेर राज्यका सबै निकायलाई पङ्गु बनाउन खोजे त्यसको महँगो मूल्य चुकाउनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री भनेको देशको कार्यकारी प्रमुख हो, उसले नबोलिकन बस्न मिल्दैन । पाँच वर्षमा देशलाई कहाँ पु¥याउने हो, त्यसको स्पष्ट ‘रोडम्याप’ जनतालाई बताउनुपर्छ । गोप्य तरिकाले मान्छे समात्ने र सुकुम्बासीका टहरा भत्काउँदै हिँड्ने कार्य राजनीति नभएर आतंकवादी गतिविधि भएको उनको आरोप छ ।
उदार लोकतन्त्रमा विश्वास राख्नेहरूका लागि जनता रुवाउने र घरबारविहीन बनाउने कार्य आतंककारी भन्दा कम नहुने र यस्तो सरकार आतंककारीको सूचीमै पर्ने उनले बताए ।
नेपालमा काम गर्ने दिनभन्दा बिदाका दिन धेरै हुनु विकासको सबैभन्दा ठूलो बाधक रहेको उनको बताए । वर्षको ३६५ दिनमध्ये शनिबार, आइतबार, चाडपर्व, प्रदेशका बिदा, सुत्केरी र घर बिदा गरेर झन्डै २४० दिन बिदा हुने र जम्मा १२० दिन मात्र काम गरेर देश बन्न नसक्ने उनले बताए ।
युरोपको सिको गरेर दुई दिन बिदा दिने तर युरोपमा गएर नेपालीले २४सै घण्टा भाडा माझ्ने गरेको यथार्थ औँल्याउँदै उनले नेपालमा तत्काल सबै अनावश्यक बिदा खारेज गर्नुपर्ने माग गरे ।
देशमा बिजुली र सुरक्षाको कुनै समस्या नभएको हुँदा काठमाडौँ, ललितपुर, पोखरा, वीरगन्ज, विराटनगर, नेपालगन्ज र बुटवलजस्ता ठूला सहरहरूलाई २४सै घण्टा खुला राख्नुपर्ने उनको सुझाव छ ।
यसले व्यापार र रोजगारी दुई गुणाले वृद्धि हुने बताए । बैंकमा थुप्रिएर बसेको अथाह पुँजी उद्योगधन्दा खोल्न चाहने नागरिकलाई सहज रूपमा उपलब्ध गराउनुपर्ने र ट्याक्स छलेको भरमा व्यापारीलाई जेल हाल्नुको साटो कर तिराएर व्यापार गर्ने वातावरण दिनुपर्नेमा उनले जोड दिए ।
सरकारले सेल्टरमा राखेर दिने १५ हजार रुपैयाँको भिख जनतालाई नचाहिएको, बरु उनीहरूलाई काम गर्ने वातावरण र सम्मान चाहिएको बताए । डोजर लगाएर विस्थापित गरिएका सबै नागरिकसँग सरकारले तत्काल माफी माग्नुपर्ने, उनीहरूलाई जग्गा र प्रविधि दिनुपर्ने तथा १० वर्षसम्म शून्य प्रतिशत ९०५० ब्याजदरमा बैंकबाट ऋण उपलब्ध गराएर गरिखाने वातावरण बनाउनुपर्ने उनको माग गरेका छन् ।
भारतले चिनी आयात रोकेका कारण नेपालमा चिनी मिलहरू बन्द भएको र उखु किसानहरू सडकमा आउनुपरेको अवस्था सरकारले देखेपनि समाधान दिन नसकेको उनले बताए ।
अर्कोतर्फ, सानो र गरिब देशको प्रधानमन्त्री भएर पनि डोनाल्ड ट्रम्प वा ठूला देशका प्रमुखसँग मात्र कुरा गर्छु भन्ने अहंकारका कारण नेपाल आएका अमेरिकी र भारतीय विशेष दूतहरूसँग भेट्न आनाकानी गर्नु कूटनीतिक विपत्ति भएको उनले बताए । चीन र भारतजस्ता विशाल र विकसित छिमेकीको बीचमा कूटनीतिक सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बताए ।
जनताको हितमा काम नगर्ने, सँधै डोजर चलाएर आतकिंत पार्ने र अहंकार पाल्ने हो भने यो सरकार पाँच महिना वा रास्वपाको आगामी महाधिवेशनसम्म पनि नटिक्ने उनको दाबी छ ।
नेपालमा सरकार फाल्न कुनै ठूलो कुरा नभएको भन्दै उनले शासकहरूलाई जनतासँग निहुँ नखोज्न चेतावनी दिए । राजतन्त्र, कांग्रेस–कम्युनिस्ट, बालेनतन्त्रस जनताले केवल सुख, शान्ति, रोजगारी र सम्पत्तिको सुरक्षा खोजेका हुन् । यदि यी आधारभूत कुराहरू दिन सकिएन भने नेपाली जनता फेरि अर्को विद्रोह गर्न र नयाँ विकल्प खोज्न तयार रहेको समेत बताए ।

civil hospital
Hams Hospitals