प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८३ बहुमतले पारित, खर्च कटौतीका प्रस्ताव अस्वीकृत

312
shares

 

काठमाडौं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको छ। यससँगै सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेट कार्यान्वयनको संवैधानिक प्रक्रिया थप अगाडि बढेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दफा २ देखि ११ सम्म निर्णयार्थ प्रस्तुत गरेका थिए। ती दफामाथि विभिन्न सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्ताव भने बहुमतले अस्वीकृत भएका छन्।

खर्च कटौती प्रस्ताव दर्ता गर्ने सांसदहरूमा कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, सजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहम्मद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्याल रहेका थिए।

अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए। विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते प्रतिनिधिसभामा विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा सांसदहरूले बजेटको प्राथमिकता, स्रोत व्यवस्थापन, विकास खर्च, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा विभिन्न मन्त्रालयका कार्यक्रमबारे प्रश्न उठाएका थिए। ती प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधबार र बिहीबार संसदमा दिएका थिए।

सांसदहरूको प्रश्नोत्तर तथा मन्त्रालयगत बजेटमाथिको छलफल सम्पन्न भएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो। बहुमतबाट विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया थप सहज बनेको छ।

प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते शुक्रबार बिहान ११ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ।

civil hospital
Hams Hospitals