काम नगर्ने कर्मचारी, घुस माग्ने दलाल र जाहेरी लिन आनाकानी गर्ने प्रहरीविरुद्ध सिधै उजुरी गर्न ‘हेलो गृह’ सञ्चालन
वि.सं.२०८३ असार ८ सोमवार
shares
काठमाडौं । जिल्ला प्रशासन कार्यालयमा सेवा प्रभावकारी नभएको, प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न आनाकानी गरेको, काम गराइदिने नाममा रकम असुल्ने दलाल सक्रिय भएको तथा गृहमन्त्रीको सचिवालयको नाम बेचेर धम्की दिने प्रवृत्तिविरुद्ध गृह मन्त्रालयले कडा निगरानी थालेको छ।
यसका लागि मन्त्रालयले ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मन्त्रालय अन्तर्गतको गुनासो व्यवस्थापन शाखामार्फत सुरु गरिएको उक्त सेवाले नागरिकलाई गृह प्रशासनसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव सिधै दर्ता गर्ने सुविधा प्रदान गर्नेछ।
शुक्रबार जारी विज्ञप्तिअनुसार सेवाप्रवाहमा हुने ढिलासुस्ती, गैरजिम्मेवारी, प्रभाव र पहुँचको दुरुपयोग तथा आर्थिक चलखेलका घटनामाथि नागरिकबाट प्राप्त सूचनाका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवामा असन्तुष्टि, सेवाग्राहीका गुनासा बेवास्ता, प्रहरीद्वारा जाहेरी लिन अस्वीकार गरिने अवस्था, काम गराइदिने बहानामा रकम माग्ने गिरोह तथा गृहमन्त्रीको सचिवालयमा कार्यरत रहेको भन्दै दबाब र धम्की दिने व्यक्तिविरुद्ध समेत नागरिकले कल सेन्टरमार्फत उजुरी गर्न सक्ने बताउनुभयो।
मन्त्रालयले गृह प्रशासनसँग सम्बन्धित सबै प्रकारका गुनासा र सुझावलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी आवश्यक सुधार र कारबाहीका प्रक्रिया अघि बढाउने जनाएको छ। नागरिकमैत्री, उत्तरदायी र पारदर्शी प्रशासनलाई सुदृढ बनाउने उद्देश्यले आधुनिक प्रविधिको प्रयोगमार्फत टोल–फ्री नम्बर, इमेल, मोबाइल तथा ह्वाट्सएप सेवा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
सेवाग्राहीले टोल–फ्री नम्बर १११२, इमेल [email protected] तथा ह्वाट्सएपसहितको मोबाइल नम्बर ९८५१३६०६०३ मार्फत गुनासा तथा सुझाव पठाउन सक्नेछन्। क्युआर कोड स्क्यान गरी अनलाइन माध्यमबाट समेत उजुरी दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ।

गृह मन्त्रालयले नागरिकका गुनासा र सुझावलाई सेवा सुधार तथा सुशासन स्थापनाको आधारका रूपमा लिँदै उपलब्ध गराइएका सम्पर्क माध्यमको अधिकतम उपयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।




























