रास्वपामा महिला नेतृत्वको युद्ध सुरु: एकातिर रवि पक्षकी सोविता, अर्कोतिर स्वतन्त्र छवि बोकेकी तोसिमा!
वि.सं.२०८३ असार १२ शुक्रवार
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिका लागि अन्ततः सोविता गौतम र डा. तोसिमा कार्की बीच प्रत्यक्ष चुनावी भिडन्त हुने भएको छ । अन्य आकांक्षीहरू अन्तिम समयमा पछि हटेपछि अब पार्टीभित्रको शक्ति परीक्षण यी दुई नेतृबीच सीमित भएको हो ।
सुरुमा महिला उपसभापतिको दौडमा इन्दिरा रानामगर र समीक्षा बास्कोटा ले पनि उम्मेदवारी घोषणा गरेका थिए । तर, पार्टी सभापति रवि लामिछाने सँगको छलफलपछि दुवै जना प्रतिस्पर्धाबाट पछि हटेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनीहरूले सोविता गौतमलाई समर्थन गर्ने संकेत दिएका छन् ।
यससँगै चुनाव अब संस्थापन पक्ष बनाम वैकल्पिक धार को रूपमा चित्रित हुन थालेको छ । पार्टीभित्र सोविता गौतमलाई सभापति रवि लामिछाने निकट उम्मेदवार का रूपमा हेरिएको छ भने डा. तोसिमा कार्कीलाई पछिल्लो समय काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सँग निकट रहेको धार ले समर्थन गरिरहेको चर्चा छ ।
दुवै नेतृले उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट अडान लिएपछि निर्वाचन अपरिहार्य बनेको हो । रास्वपाको आगामी नेतृत्व संरचनामा प्रभाव पार्ने यो प्रतिस्पर्धालाई पार्टीभित्र प्रतिष्ठाको लडाइँ का रूपमा हेरिएको छ ।
विशेष गरी युवा मतदाता, महिला नेतृत्व र पार्टीको भविष्यको शक्ति सन्तुलनमा यस चुनावले ठूलो संकेत दिने विश्लेषण भइरहेको छ । अब चासोको विषय बनेको छ—रवि लामिछानेको प्रभाव बलियो देखिने कि तोसिमाको स्वतन्त्र लोकप्रियता भारी पर्ने?




























