सरकारको एकसय दिन अत्यन्तै विवादास्पद र निराशाजनक : ऐन महर

204
shares

काठमाडौँ । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा महरले वर्तमान सरकारको १०० दिन अत्यन्तै विवादास्पद र निराशाजनक रहेको टिप्पणी गरेका हुन् ।

 

प्रमुख सचेतक महरले सरकार संविधान र कानुनको कार्यान्वयन गर्नुको साटो सर्वसत्तावाद, स्वेच्छाचारिता र तानाशाही बाटोतर्फ उन्मुख भएको आरोप लगाए । उनले सरकार जनअपेक्षा पूरा गर्न पूर्णत असफल भएको र आफूलाई ठूलो जनमत प्राप्त भएको दम्भमा सरकारले लोकतान्त्रिक मूल्य–मान्यतालाई नै कमजोर बनाउने काम गरिरहेको बताए ।

 

महरले सरकारले सपना मात्र बाँड्ने तर कार्यान्वयन पक्ष भने निकै फितलो र कमजोर रहेको दाबी गरे । हिजो अभियन्ताको भूमिकामा रहेकाहरू अहिले सत्तामा पुगेपछि परिपक्वता, प्रस्ट योजना र जवाफदेहिताको साटो जनतामा डर र त्रासको वातावरण सिर्जना गर्न उद्दत रहेको उनको जिकिर छ ।

 

राज्यसत्ता कब्जा गर्ने नियतले सरकार अगाडि बढेको आरोप लगाउँदै महरले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना जस्ता जनचासोका विषयमा सरकारको ध्यान पुग्न नसकेको बताए । बरु, सरकार प्रतिशोध साध्ने र आफूलाई मन नपर्ने व्यक्ति वा दललाई ‘ठिक पार्ने’ तर्फ केन्द्रित भएको उनले उल्लेख गरे ।

 

महरले मन्त्रालयहरूको सङ्ख्या घटाउने भनी भ्रम सिर्जना गरेर अन्तत मन्त्रीहरूको स्वकीय सचिवालयमा भारी सङ्ख्यामा सल्लाहकार थपेर राज्यलाई व्ययभार बढाउने काम भएको भन्दै यसले सुशासन नभई कुशासन निम्त्याउने जिकिर गरे। यसले कर्मचारीतन्त्रलाई निष्क्रिय बनाउने र स्थापित मूल्य–मान्यतालाई लथालिङ्ग बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

 

सरकारले ल्याएको १०० बुँदे कार्ययोजनाको कार्यान्वयन १० प्रतिशत पनि हुन नसकेको जिकिर गर्दै महरले सरकारको व्यवहार उरन्ठेउलो र ‘वचपन’पूर्ण रहेको आरोप लगाए । उनले सरकारको कार्यशैली देश र लोकतन्त्रका लागि अत्यन्तै चिन्ताजनक र खतरनाक भएको चेतावनी दिए । एमाले परम्परागत रूपमा विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै महरले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए ।

 

सरकारले जनताको पक्षमा, संविधान र विधिको शासनअनुसार काम गर्दा आफ्नो पूर्ण समर्थन रहने तर कमजोरी वा गलत काम गरेमा कडा खबरदारी र प्रश्न गर्ने उनले प्रष्ट पारे । प्रधानमन्त्रीको संसदीय भूमिकाप्रति कटाक्ष गर्दै महरले संविधानको धारा ७६ (१०) अनुसार सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने भए पनि प्रधानमन्त्रीले संसदलाई नै उपेक्षा र अपमान गरेको आरोप लगाए । संसदमा आउने शैली र उपस्थितिबाटै प्रधानमन्त्रीले लोकतन्त्र र सार्वभौमसत्ताको अवहेलना गरिरहेको उनले टिप्पणी गरे ।

 

महरले अपार जनमत पाएको सरकारले युवा पुस्ताप्रति जगाएको आशामा सुरुमै तुषारापात भएको बताए । एक महिना नबित्दै नागरिकहरू सडकमा उत्रिनुपर्ने अवस्था आउनु सरकारको ठूलो असफलता भएको बताउँदै उनले सरकार यही प्रवृत्तिमा चले ६ महिना टिक्न पनि मुस्किल पर्ने दाबी गरे ।

civil hospital
Hams Hospitals