अधिकृतदेखि नायब सुब्बासम्मका ९८ जना कर्मचारीको एकै पटक सरुवा
वि.सं.२०८३ असार २५ बिहीवार
shares
काठमाडौं । सरकारले प्रशासनिक संयन्त्रमा व्यापक हेरफेर गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कार्यरत ९८ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ।
दुवै मन्त्रालयले विभिन्न मितिमा जारी निर्णयअनुसार प्रशासनिक आवश्यकता, जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउने उद्देश्यसहित कर्मचारीहरूको जिम्मेवारी परिवर्तन गरेका हुन्।
सरुवामा अधिकृत, शाखा अधिकृत, नायब सुब्बालगायत विभिन्न तहका कर्मचारी समावेश छन्। उनीहरूलाई देशका विभिन्न कार्यालयमा नयाँ जिम्मेवारीसहित खटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सरुवा भएका सबै कर्मचारीले तोकिएको समयभित्र नयाँ कार्यस्थलमा अनिवार्य रूपमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ। नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको यो सरुवाले सरकारी कार्यालयहरूको कार्यसम्पादनलाई थप व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयको छ।
दुवै मन्त्रालयले सरुवा गरिएका ९८ जना कर्मचारीहरूको नामावलीसमेत सार्वजनिक गरेका छन्। सम्बन्धित कर्मचारीहरूलाई मन्त्रालयले निर्धारण गरेको समयसीमाभित्र नयाँ कार्यस्थलमा हाजिर हुन निर्देशन दिइएको छ।






























