देशभर स्वास्थ्य सेवा ठप्प, सरकारमाथि दबाब बढ्यो
वि.सं.२०८३ साउन १२ मंगलवार
shares
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको छ। संघले मंगलबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको हो।
संघले सोमबार जारी गरेको विज्ञप्तिमार्फत साउन १२ गते देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा सञ्चालन नगर्ने जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणमा संलग्न दोषीमाथि तत्काल कानुनी कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी संघले दिएको छ।
साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा डा. राम गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेपछि उपचार भइरहेको छ। घटनापछि अस्पताल परिसरमा समेत तोडफोड भएको संघको भनाइ छ।
घटनाका दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भइरहेको वार्ताका क्रममा समेत चिकित्सकमाथि दुर्व्यवहार भएको संघले आरोप लगाएको छ। प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखबाट चिकित्सकहरूमाथि गालीगलौज तथा अमर्यादित व्यवहार भएको भन्दै संघले त्यसको कडा विरोध गरेको छ।
नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने, अस्पताल तोडफोड गर्ने तथा स्वास्थ्य संस्था असुरक्षित बनाउने गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार कडा कारबाही गर्न माग गरेको छ।
संघले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कारण बिरामीमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै त्यसको जिम्मेवारी सरकारकै हुने उल्लेख गरिएको छ।






























