दसैंमा नयाँ नोटको भीड घटाउँदै राष्ट्र बैंक, एटीएमबाटै १०० का नोट

174
shares
Nabil bank

 

 

काठमाडौं । दसैं नजिकिँदै गर्दा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंक तथा बैंकका शाखामा लाग्ने भीड घटाउने तयारी गरिएको छ। यसपटक राष्ट्र बैंकले नयाँ नोटको ठूलो परिमाणमा वितरणभन्दा सुकिला तथा सफा नोटको प्रयोगलाई प्राथमिकता दिएको छ।

 

राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएममार्फत १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन्। यसले चाडपर्वका लागि साना दरका नोट आवश्यक पर्ने सर्वसाधारणलाई बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने बाध्यता केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।

 

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले यसपटक नयाँ नोट वितरणलाई लिएर विगतमा जस्तो व्यापक प्रचारप्रसार गरिएको छैन। त्यसको सट्टा सर्वसाधारणका लागि सुकिला र सफा नोट सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

 

पौडेलले नोट सटही नियमित प्रक्रियाअन्तर्गत हुने भएकाले त्यसका लागि छुट्टै सूचना जारी गर्न आवश्यक नठानिएको बताए।

 

राष्ट्र बैंकका अनुसार असोज १ गतेदेखि थापाथलीस्थित राष्ट्र बैंक कार्यालय, राष्ट्र बैंकका प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूमार्फत सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ।

 

राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि दसैं–तिहारजस्ता चाडपर्वमा ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउने अभ्यासलाई क्रमशः घटाउँदै आएको छ। नयाँ नोटको अत्यधिक माग र प्रयोगले नोट छिट्टै बिग्रिने तथा व्यवस्थापनमा अतिरिक्त खर्च बढ्ने भएकाले चलनचल्तीमा रहेका सफा नोटकै प्रयोगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको हो।

 

दसैंमा ८० अर्बसम्म थप मुद्रा चलनचल्तीमा आउन सक्ने

 

राष्ट्र बैंकका अनुसार भदौ ३१ गतेसम्म बजारमा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।

 

दसैंका समयमा आर्थिक कारोबार र नगदको माग बढ्ने भएकाले चलनचल्तीमा रहेको मुद्रा करिब ८ देखि १० प्रतिशतसम्म बढ्न सक्ने राष्ट्र बैंकको अनुमान छ।

 

यो अनुमानअनुसार दसैंका बेला बजारमा थप करिब ६३ अर्ब ५२ करोडदेखि ७९ अर्ब ४० करोड रुपैयाँसम्म मुद्रा चलनचल्तीमा आउन सक्नेछ।

 

नगदको माग उच्च हुने चाडपर्वमा नयाँ नोटकै खोजी गर्ने प्रवृत्ति घटाउँदै राष्ट्र बैंकले ‘नयाँभन्दा सफा’ नोट प्रयोग गर्ने संस्कार विकास गर्न खोजेको देखिन्छ।

 

यससँगै बैंक तथा वित्तीय संस्थाले एटीएमलगायतका प्रविधिमार्फत साना दरका सफा तथा नयाँ नोट उपलब्ध गराउन थालेपछि आगामी दिनमा नयाँ नोट साट्न बैंक तथा राष्ट्र बैंकका कार्यालयमा लाग्ने भीडसमेत कम हुने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals