अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ
वि.सं.२०८३ मंसिर ९ बुधवार
shares
मुस्ताङ । मुक्तिनाथबाट फर्केर मार्फामा कोसेली स्वरुप मार्फा ब्रान्डको मदिराजन्य पेयपर्दाथ खरिद गर्न चाहेका बैतडीका नरेन्द्र भट्ट (नाम परिवर्तन) यस पटक मार्फा खरिद गर्न पाएनन् । यसअघि उनले मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्रबाट मार्फा (मदिराजन्य सामाग्री) खरिद गर्ने गरेका थिए तर यसपटक भने उक्त केन्द्रले रक्सी उत्पादन बन्द गरेका कारण उनको चाहना पूरा हुन सकेन ।
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा गाउँ स्याउ र त्यसबाट उत्पादित ब्रान्डीका कारण पनि परिचित छ । यहाँ पुग्ने पर्यटकका लागि मार्फा ब्रान्डी केवल मदिराजन्य पेय मात्र होइन, मुस्ताङको स्वाद र पहिचान बोकेको एउटा लोकप्रिय कोसेली पनि हो । तर पछिल्लो समयमा केन्द्रले ब्रान्डी बिक्री तथा उत्पादन प्रक्रिया रोकेपछि अहिले त्यसको प्रत्यक्ष असर स्याउको उपयोगमा समेत देखिन थालेको छ । केन्द्रका अनुसार २०८२ चैतदेखि उत्पादन तथा बिक्री प्रक्रिया रोकिएको हो ।
मुस्ताङमा उत्पादन हुने सबै स्याउ बजारमा बिक्रीयोग्य हुँदैनन् । गुणस्तरका आधारमा वर्गीकरण गर्दा असल स्याउ ताजा फलका रूपमा बजारमा बिक्री हुन्छन् । तर सामान्य तथा कमशल स्याउ, रुखबाट झरेका तथा अन्य कारणले बजारमा बिक्री हुन नसक्ने स्याउ भने प्रशोधनका लागि उपयोग गरिँदै आएको थियो । यस्ता स्याउबाट ब्रान्डी, वाइन, साइडर, जाम तथा सुकुटीलगायत परिकार उत्पादन हुँदै आएका छन् ।
यहीमध्ये ब्रान्डी उत्पादन गर्दै आएको शीतोष्ण बागवानी विकास केन्द्रले पछिल्लो समय उत्पादन तथा बिक्री प्रक्रिया रोकेको छ । केन्द्रका प्रमुख प्रकाश पन्थका अनुसार अन्तःशुल्कसम्बन्धी कानुनी र प्रशासनिक जटिलताका कारण ब्रान्डी, वाइन लगायतका मदिराजन्य पेयपदार्थको उत्पादन प्रक्रिया रोक्नुपरेको बताए । उत्पादन रोकिएपछि बजारमा बिक्री हुन नसक्ने स्याउ प्रशोधन हुनबाट वञ्चित भएका छन् ।
पन्थका अनुसार केन्द्रको उद्देश्य व्यावसायिक मदिरा उद्योग सञ्चालन गर्नु नभई स्याउलगायत शीतोष्ण फलफूलको प्रशोधन प्रविधि विकास र किसानलाई हस्तान्तरण गर्नु हो । केन्द्रले उत्पादन गर्ने ब्रान्डीबाट प्राप्त हुने आम्दानी सरकारी राजस्वमा जम्मा हुँदै आएको थियो । तर अन्तःशुल्क असुल नभएको भन्दै लेखापरीक्षणका क्रममा बेरुजु देखिएपछि केन्द्रले उत्पादन तथा बिक्री प्रक्रिया रोकेको हो ।
‘हाम्रो उद्देश्य त खेर जाने स्याउलाई मूल्य अभिवृद्धि गरेर राजस्वमा योगदान पु¥याउने हो । तर अन्तःशुल्क नउठेको विषयमा बेरुजु आएपछि हामीले उत्पादन तथा बिक्री रोक्नुपर्ने अवस्था आयो,’ केन्द्र प्रमुख पन्थले भने ।
ब्रान्डी उत्पादन रोकिँदा ए र बी ग्रेडका स्याउको बजारीकरणमा भने प्रत्यक्ष समस्या नपरे पनि तर प्रशोधनका लागि उपयोग हुँदै आएका सी र डी ग्रेडका तथा झरेका स्याउ भने खेर जाने अवस्थामा पुगेको उनले बताए ।
‘जुन स्याउ खेर जाने वा सड्ने सम्भावना थियो, त्यसलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने हाम्रो उद्देश्य थियो । अहिले त्यो प्रक्रिया रोकिँदा ती स्याउलाई चाहेर पनि उपयोग गर्न सकिएको छैन । अन्ततः कम्पोस्ट मल बनाउनुपर्ने अवस्था छ,’ पन्थले भने ।
अन्तःशुल्कको विवादले रोकियो उत्पादन
शीतोष्ण बागवानी विकास केन्द्रले विसं २०२३ देखि नै स्याउ तथा अन्य शीतोष्ण फलफूलको प्रशोधन र ब्रान्डी उत्पादन सुरु गरेको थियो । केन्द्रले उत्पादन गरेको ब्रान्डी मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयबाट तोकिएको मूल्यमा बिक्री गर्दै आएको थियो । त्यसबेला उद्योग दर्ता तथा अन्तःशुल्क स्टिकरसम्बन्धी अहिलेको प्रक्रियाअनुसार बिक्री व्यवस्था सञ्चालन नभएको केन्द्रको भनाइ छ ।
पछिल्ला दुई–तीन वर्षदेखि राजस्व कार्यालय तथा लेखापरीक्षणका क्रममा ब्रान्डी बिक्रीमा अन्तःशुल्क नउठेको विषय उठ्न थालेको थियो । आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षणमा समेत अन्तःशुल्क असुल नभएको भन्दै बेरुजु देखिएपछि केन्द्र थप समस्यामा परेको हो ।
मदिराजन्य पदार्थ उत्पादन तथा बिक्रीका लागि उद्योग दर्ता र अन्तःशुल्कसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर अनुसन्धान तथा प्रविधि हस्तान्तरणका लागि स्थापना भएको कृषि केन्द्रलाई व्यावसायिक मदिरा उद्योगकै प्रक्रियामा लैजानुपर्ने अवस्थाले समस्या सिर्जना गरेको पन्थ बताउँछन् ।
केन्द्रले उत्पादन गरेको ब्रान्डी बिक्रीबाट प्राप्त रकम सरकारी राजस्वमा जम्मा गर्दै आएको भए पनि अन्तःशुल्कको दायित्व कसले र कसरी पूरा गर्ने भन्ने विषय स्पष्ट हुन नसक्दा बेरुजुको अवस्था आएको उनको भनाइ छ ।
यसैबीच, केन्द्रले उत्पादन तथा बिक्री प्रक्रिया रोक्ने निर्णय गरेपछि ब्रान्डी बिक्री रोकिएको छ । पन्तका अनुसार २०८२ पुसदेखि अन्तःशुल्कसम्बन्धी समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाइएको थियो । निर्णयका लागि केही समय प्रतीक्षा गरे पनि बेरुजु तथा कार्यालयको जवाफदेहितालाई ध्यानमा राख्दै २०८२ चैतदेखि उत्पादन तथा बिक्री प्रक्रिया रोकिएको हो ।
पुनः उत्पादनको बाटो खुले पनि तत्काल सम्भव छैन
ब्रान्डी उत्पादन बन्द भएपछि केन्द्रले कानुनी तथा प्रशासनिक समस्या समाधानका लागि विभिन्न निकायमा पत्राचार गर्दै आएको थियो । त्यसको परिणामस्वरूप अध्ययन, अनुसन्धान तथा प्रविधि हस्तान्तरण प्रयोजनका लागि निश्चित परिमाणमा मदिराजन्य पदार्थ उत्पादन तथा बिक्री गर्न सकिने गरी स्वीकृति प्राप्त भएको केन्द्र प्रमुख पन्थले जानकारी दिए ।
उनका अनुसार मङ्सिर १ गते प्राप्त पत्रबाट केन्द्रलाई वार्षिक पाँच हजार पाँच सय लिटर प्रशोधित पेय उत्पादन गर्न स्वीकृति दिइएको छ । स्वीकृत परिमाणअनुसार चार हजार लिटर ब्रान्डी, एक हजार लिटर वाइन र पाँच सय लिटर साइडर उत्पादन गर्न सकिनेछ ।
तर स्वीकृति प्राप्त हुँदैमा तत्काल उत्पादन सुरु गर्न सकिने अवस्था भने छैन । स्वीकृतिमा राखिएका सर्त पूरा गर्नुपर्ने भएकाले केन्द्रले थप तयारी गर्नुपर्ने भएको छ ।
स्वीकृतिका सर्तअनुसार यसअघि प्रयोग हुँदै आएका प्लास्टिकका ट्याङ्कीको सट्टा स्टिल वा काठका भाँडामा किण्वन प्रक्रिया सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि आवश्यक सामग्री तथा उपकरण खरिद गर्न बजेट व्यवस्था गर्नुपर्ने हुन्छ । त्यस्तै उत्पादनको गुणस्तर सुनिश्चितता र प्रचलित कर तथा अन्तःशुल्क बिक्री मूल्यमा समायोजन गर्नुपर्ने व्यवस्था पनि पूरा गर्नुपर्नेछ ।
‘हामीलाई उत्पादन गर्न स्वीकृति आएको छ । तर स्वीकृतिमा केही सर्त छन् । स्टिल वा काठका भाँडाको व्यवस्था गर्नुपर्छ । त्यसका लागि बजेट चाहिन्छ । कर तथा अन्तःशुल्क बिक्री मूल्यमा समायोजन गर्ने प्रक्रिया पनि पूरा गर्न बाँकी छ,’ पन्थले भने ।
उनका अनुसार यस वर्ष बजेटमा आवश्यक व्यवस्था गरी स्वीकृति प्राप्त भएमा आगामी वर्षदेखि उत्पादन पुनः सञ्चालन गर्न सकिने सम्भावना छ । यसका लागि मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालयलगायत निकायबीच समन्वय आवश्यक पर्नेछ ।































