काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्ग : विस्तृत डिजाइनका लागि नेपालको स्वीकृति

723
shares
Shine resunga department bank

काठमाडौंलाई सीमावर्ती भारतको रक्सौलसम्म रेलमार्गबाट जोड्ने उद्देश्यले अघि बढाइएको काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्गको विस्तृत डिजाइन अध्ययनको समझदारीपत्रलाई नेपाल सरकारले स्वीकृत गरेको छ । उक्त रेलमार्गको डिटेल डिजाइनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न हाल उक्त प्रस्ताव भारत सरकारसमक्ष पठाइएको र अध्ययन अघि बढाउने विषयमा भारतको प्रतिक्रियाको पर्खाइमा नेपाल रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघिको मन्त्रिपरिषद्को निर्णयपछि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव भारत सरकारसमक्ष पु¥याएको हो । यससँगै उक्त आयोजनाको अध्ययन अघि बढ्ने मन्त्रालयका अधिकारीको भनाइ छ ।

‘प्रस्ताव भारत पठाइसकेको र उक्त पत्रमा भएका विषयवस्तुलाई भारतले स्वीकार गरेर नेपाल पठाएपछि अध्ययन शुरू हुनेछ,’ मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भने । आइतवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी रेल विभागका महानिर्देशकलाई दिएको जानकारी दिए ।

उनले उक्त ब्रोडगेज रेलमार्गको निर्माण कार्य अघि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरिएको र उक्त पत्रमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको उल्लेख गरेका हुन् ।

२०७४ चैत २४ मा भारत भ्रमणका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच काठमाडौं–रक्सौल रेलमार्ग योजना अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छन् ।