अलग पार्टी बनाउने नेपाल समूहका जनसंगठनको चेतावनी

1K
shares

काठमाडौं ।आज नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

बिहीबार १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय सच्याउन पनि माग गरेका छन् ।

तर ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गर्दै फिर्ता लिन माग गरेका छन् ।

‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

तर यदि एमाले पार्टी संरचना, विधान र नेतृत्व २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी बनाउने चेतावनी पनि दिइएको छ । ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ ।

इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

१८ जेठमा ओली निकट जनसंगठनहरुले पनि संयुक्त वक्तव्य जारी गरेर प्रधानमन्त्री र सरकारका गतिविधि विपरीत संलग्न नेताहरुलाई निष्कासनको माग गरिएको थियो ।

civil hospital
Hams Hospitals