प्रहरीको गोप्य सूचना चुहाउनेलाई कडा कारबाही गर्ने चेतावनी, पूर्वप्रहरीसमेत कारबाहीको दायरामा
वि.सं.२०८३ मंसिर १३ आइतवार
shares
काठमाडौं । फौजदारी मुद्दाको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, प्रमाण तथा संवेदनशील विवरण अनधिकृत रूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्तिप्रति नेपाल प्रहरीले कडा चेतावनी दिएको छ। प्रहरी प्रधान कार्यालयले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना चुहाउने, सार्वजनिक गर्ने तथा त्यस्ता गतिविधिमा सहयोग र सहजीकरण गर्ने बहालवाला र पूर्वप्रहरी कर्मचारीमाथि समेत विभागीय तथा कानुनी कारबाही गर्ने स्पष्ट पारेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले मंसिर १३ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत अनुसन्धानको गोपनीयता भंग गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
पछिल्लो समय फौजदारी अपराधको अनुसन्धानका क्रममा रहेका विषयसँग सम्बन्धित गोप्य सूचना तथा विवरण विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनधिकृत रूपमा चुहावट भइरहेको भन्दै प्रहरीले यस्तो प्रवृत्तिले शंकित व्यक्तिहरूको वैयक्तिक गोपनीयतामा असर पार्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता र संवेदनशीलतामाथि समेत प्रश्न उठाएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन तथा प्रहरी आचरणविपरीतको गम्भीर कसुर हो।
प्रहरीले प्रहरी नियमावली, २०७१ को नियम ७१ (आचरणसम्बन्धी व्यवस्था) उल्लंघनको कसुरमा नियम १०९ र १११ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ को उपदफा (३), (४) र (५) बमोजिम गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यस्ता कार्यमा दुरुत्साहनसम्बन्धी कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिमाथि आवश्यक विभागीय तथा कानुनी कारबाही हुन सक्ने व्यहोरासमेत प्रहरीले स्पष्ट पारेको छ।
यसले प्रहरी अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण बाहिर पुर्याउने, प्रमाण तथा अभिलेख अनधिकृत रूपमा सार्वजनिक गर्ने र त्यस्ता कार्यमा सहयोग गर्नेहरूलाई समेत कानुनी जिम्मेवारीबाट उम्कन नदिने प्रहरीको संकेत देखिएको छ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखित तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन निर्देशन दिएको छ।त्यस्तै, त्यस्ता विवरण सार्वजनिक नगर्न तथा अनुसन्धानसम्बन्धी कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुनसमेत सचेत गराइएको छ।
प्रहरी कर्मचारीलाई आफ्नो पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन तथा संगठनात्मक जिम्मेवारीप्रति सदैव सचेत र जिम्मेवार रहन आग्रह गरिएको छ।प्रहरीले गैरकानुनी तथा अनुशासनविपरीतका गतिविधिमा पूर्वप्रहरी कर्मचारी वा बहालवाला प्रहरी कर्मचारी संलग्न रहेको पाइएमा मात्रै नभई त्यस्ता गतिविधिलाई प्रोत्साहन गर्ने, सहयोग गर्ने वा सहजीकरण गर्ने व्यक्तिमाथि समेत छानबिन गर्ने जनाएको छ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुन तथा संगठनको नीतिगत व्यवस्थाबमोजिम आवश्यक छानबिन गरी विभागीय तथा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा अनुसन्धानको गोपनीयता कायम राख्नु प्रहरी कर्मचारीको व्यावसायिक जिम्मेवारी र संगठनात्मक अनुशासनसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख छ।
प्रहरीको यो चेतावनीले अनुसन्धानका नाममा प्राप्त संवेदनशील सूचना दुरुपयोग गर्ने तथा संगठनभित्र वा बाहिरबाट सूचना चुहावटमा संलग्न हुनेहरूमाथि निगरानी र कारबाही अघि बढाउने संकेत गरेको छ।प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो गतिविधिमा संलग्न व्यक्तिमाथि आवश्यक कारबाही गरिने व्यहोरा सार्वजनिक गरिएको छ।
































