यी पूर्वमन्त्रीले अझै क्वाटर छाडेनन्
वि.सं.२०७८ जेठ २२ शनिवार
shares
काठमाडौं। पछिल्लो समय सर्वोच्च अदालतले नियुक्ति बदर गरेका ७ मन्त्रीले अझै पनि हरिहरभवनस्थित मन्त्री निवास छाडेका छैनन्। मन्त्री निवासको रेखदेख र मर्मत सुधार हेर्ने सहरी विकास तथा भवन विभागका एक अधिकारीका अनुसार अदालतको आदेशपछि पनि ६ मन्त्रीले अझै निवास ओगटेर बसेका छन्।
अदालतले नियुक्ति बदर गरेको १७ दिन बितिसक्दा पनि निर्लज्ज रुपमा उनीहरु निवास कब्जा गरी बसेका छन्। सर्वोच्च अदालतले २०७८ जेठ ६ गते सांसद पदमा नरहेका ७ मन्त्रीको नियुक्ति कानुनसम्मत नभएकाले बदर गरेको थियो।
मन्त्रीको जागिर गएको १७ दिनसम्म पनि क्वाटर कब्जा गर्ने रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा हुन्। मणि थापा भने केही दिनअघि निवास छाडेर इमाडोलस्थित घरमा सरिसकेका छन्। बादल गृहमन्त्री, रायमाझी, ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र लामा युवा तथा खेलकुद मन्त्री थिए। माओवादीबाट ओलीको समूहमा आएका उनीहरु अझै पनि मन्त्री हुने आशामा छन्।
जबकि अब मन्त्रीको कोटा ८ मात्रै छ। अदालतले १७ दिनअघि नियुक्ति बदर गरेका बादलहरुलाई पुनः मन्त्री बनाउन पनि निकै गाह्रो छ। यो वास्तविकता बुझेर पनि भूपू मन्त्रीहरु निवास कब्जा जमाएरै बसेका छन्।
निवास नछाड्दा शुक्रबार मन्त्री भएकाहरु क्वाटरमा सर्न नपाउने भएका छन्। नयाँ मन्त्रीहरुले आफूहरुका लागि निवास खाली गराउन दबाब दिन थालेपछि भवन विभागका अधिकारीहरु हैरान भएका छन्।
मन्त्रीबाट हटेको १७ दिनसम्म पनि निवास नछाड्नेहरुका लागि प्रदीप ज्ञवालीले मन्त्रीबाट निवृत्त भएको भोलिपल्टै आज निवास छाडेर सबक सिकाएका छन्। तर उनीहरु भने अझै पनि ओलीले ८ मन्त्री पदमा नियुक्त गर्ने आशामा निवासमा धर्ना बसेका छन्।



























