नवनियुक्त स्वास्थ्य राज्यमन्त्री माननीय उमेश श्रेष्ठ र होटल संघ नेपालका अध्यक्ष सृजना राणाबिच भेटवार्ता सम्पन्न
वि.सं.२०७८ साउन १९ मंगलवार
shares
काठमाडौँ।आज मिति २०७८ साउन १९ गते नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय उमेश श्रेष्ठज्यू र होटल संघ नेपालका अध्यक्ष सृजना राणा ज्यूको भेटवार्ता सम्पन्न भएकाे छ।
उक्त भेटवार्तामा बधाई दिँदै अध्यक्ष राणाले कोभिड–१९ को माहामारीबाट विस्तारै आन्तरिक पर्यटन मार्फत चलायमान हुन थालेको पर्यटन व्यवसाय दोस्रो लहरको कोभिडबाट अत्यन्तै संकटग्रस्त अवस्थामा पुगेको जानकारी गराउनु भयो ।
अध्यक्ष राणाले विश्वका कतिपय मुलुकहरुमा कोभिडविरुद्धको खोपको मात्रा पुरा गरेका विदेशीहरु नेपाल आउन तत्पर रहेको हुँदा यस पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीहरुलाई खोप उपलब्ध गराउन सके पर्यटक आगमनको सम्भावना रहेको जानकारी गराउँदै अविलम्ब पर्यटन उद्योगमा संलग्न व्यक्तिहरुलाई कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउन माग गर्नुभयो ।
साथै, यस पूर्वको संघको अनुरोधमा होटल क्षेत्रको लागि ६० हजार खोप प्रदान गर्न स्वीकृत भई आवश्यक तयारी साथ सबै क्षेत्रीय संघहरुमा समेत जानकारी गराइसकेको तर आजका दिनसम्म पनि विशेषतः उपत्यकाबाहिर होटल क्षेत्रमा खोप नपुगिसकेको हुँदा देशै भरिबाट तीब्र रुपमा माग भई आएको जानकारी गराउँदै उहाँले होटलमा अग्रपंक्तिमा रही कार्य गर्ने कामदार तथा कर्मचारीहरुलाई खोप दिलाई पर्यटन पुनरुत्थान गर्न ढुक्क भई काम गर्न सक्ने वातावरण नभएसम्म होटल सञ्चालन गर्न नसकिने यथार्थता रहेको बताउनुभयो ।
उहाँले अहिलेसम्म खोप पाउन नसकेका देशैभरका होटलसँग सम्बन्धित व्यक्तिहरुका लागि अविलम्ब खोप वितरण गरी पर्यटन पुनरुत्थान र यस व्यवसाय सञ्चालनका लागि सुनिश्चितता प्रदान गरिदिन समेत आग्रह गर्नुभययो ।
भेटघाटका अवसरमा राज्यमन्त्री श्रेष्ठले यथाशक्य खोप उपलब्ध गराउने आश्वासन व्यक्त गर्नुभयो । उक्त अवसरमा संघका द्वितीय उपाध्यक्ष प्रविण बहादुर पाण्डेको पनि उपस्थिति रहेको थियो ।































