सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गियो
वि.सं.२०७८ भदौ १५ मंगलवार
shares
काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि दलबीच सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष बैठक सकिएको हो ।
बैठकमा केही दिनदेखि सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफल भएको हो, तर मन्त्रालयमा भागवण्डा नमिल्दा बैठक बिनानिष्कर्ष सकिएको जनाइएको छ ।
हाल कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई ४ र ४ वटा मन्त्रालयको सहमति जुटाउने प्रयास भइरहेको छ। जसपाले पनि मन्त्रालय बाँडफाँट समान हुनुपर्ने अडान राखिरहेको छ।
५ दलको समर्थनमा बनेको वर्तमान देउवा सरकारमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य ४ दलको सहभागिता हुनेछ । हाल आफूसहित प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएका छन् । सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि अहिलेसम्म देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको थियो।
गठबन्धनमा आवद्ध दलबीच आज मन्त्रालयको भागबण्डा टुंग्याउने र भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। बैठक आज साँझका लागि पुन: डाकिएको छ ।


























