रोकिएको नेपाली कांग्रेसका तल्लो तहका अधिवेशन शनिबारबाट सुरु
वि.सं.२०७८ कात्तिक २८ आइतवार
shares
क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा रोकिएको नेपाली कांग्रेसका तल्लो तहका अधिवेशन शनिबारबाट सुरु भएको छ ।
प्रदेश नम्बर २ को सर्लाही, पर्सा र रसुवाबाहेकका जिल्लामा शनिबार वडा अधिवेशन सुरु भएको हो । १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन सुरु भएका अन्य जिल्लाको पनि प्रक्रिया रोकिएको थियो।
१३ जिल्लाले सबै तहको अधिवेशन सके पनि प्रदेश २ का आठसहित डोल्पा, बाँके, कैलाली, सुर्खेत, रसुवा जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको थिएन ।
बाँकी सबै जिल्लाको अधिवेशन प्रक्रिया एकसाथ अघि बढाउने कांग्रेस निर्वाचन समितिको निर्णयसहित संशोधित कार्यतालिकाअनुसार फेरि अधिवेशन प्रक्रिया सुरु भएको हो । कतिपय जिल्लामा शनिबार नै प्रदेशसभा क्षेत्रीय अधिवेशन भएका छन्।तर क्रियाशील सदस्यता विवाद अझै सुल्झेको छैन् ।
सबैभन्दा अन्तिममा क्रियाशील सदस्यता सार्वजनिक गरिएको रौतहटदेखि सर्लाही, डडेलधुरासम्मको विवाद कायमै छ। पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्लले यसअघि भएको वडा र पालिका अधिवेशन रद्द गरी पुनः अधिवेशन गराउन माग गर्दै आएका छन् ।
जिल्ला कार्यसमितिको सहमतिबिनै क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी डडेलधुरामा वडा र पालिका अधिवेशन गरिएको छ। सभापति मल्लले ती अधिवेशन रद्द गरी पुनः नगराए मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन र धर्नामा बस्ने जानकारी शनिबार पत्रकार सम्मेलनमार्फत गराएका छन् ।
पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको शनिबार बसेको बैठकमा संस्थापन इतरका नेताहरूले डडेलधुरासहितका जिल्लाको सदस्यता विवाद प्रवेश गराएका छन् ।
जिल्लाहरूको विवाद टुंगोमा पुग्न नपाउँदै जनसम्पर्क समितिभित्रको सदस्यता विवादले पनि बैठकमा प्रवेश पाएको छ । नागरिक दैनिकमा समाचार छ ।




























