सशस्त्र प्रहरीले बिना धितो १५ लाखसम्म कर्जा पाउने

Ghorahi cement

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्वन्धमा बुधबार दुई निकायबीच उक्त सम्झौता भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १४ गते आयोजित एक समारोहका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको हालको अवस्था, वैंकले प्रदान गर्दै आएको सेवावारे जानकारी दिँदै ७ प्रदेश ७७ जिल्लामा नै शाखा रहेको यस बैंकले सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । बैंकले गत आवको मुनाफावाट ३३ प्रतिशत लाभांश दिन सफल भएको समेत जानकारी उनले दिए ।

 

उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको बताए । उनले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने जानकारी दिए ।

उनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिने सेवा तथा सुविधा वितरणमा उक्त बैंकले पुर्याउने सहयोगप्रती हार्दिक आभार गरेका छन् ।

 

उक्त सम्झौता अुनसार सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलव भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम १५ लाख सम्मको ऋण सुविधा पाउनेछन् । यस्तैै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो बैंकका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Nepali patro