गठबन्धनका दलहरुबीच कुटाकुट, प्रहरी चौकी तोडफोड

Ghorahi cement

पाँचदलीय सत्ता गठबन्धनमा रहेका दुई दलबीच रुकुम पश्चिममा कुटाकुट भएको छ । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच चुनावी प्रचारको क्रममा भएको विवादले उग्र रुप लिएपछि स्थिति असामान्य भएको हो ।

आज साँझ भएको झडपमा नेपाली काँग्रेसका आठ जना कार्यकर्ता घाइते भएका छन् । माओवादीका दुई जना कार्यकर्ताको टाउको फुटेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ९ मा रहेको नुवाकोट प्रहरी चौकीसमेत तोडफोड गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले आज त्रिवेणी गाउँपालिका ९, नुवाकोटमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको बताउनुभयो । झडपमा घाइते भएका नेपाली काँग्रेसका दुई जना कार्यकर्तालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । बाँकी छ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काँग्रेस कार्यकर्ताहरु नवीन खड्का, चित्रबहादुर खड्का, कृष्ण पुन, वीरबहादुर वली, दुर्गाबहादुर वली, झुपलाल वली र वीरबहादुर वली घाइते भएका हुन् ।

झडपको क्रममा काँग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र छिरेको भन्दै माओवादी निकट वाइसीएलले चौकीसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ । चौकीमा काँग्रेस कार्यकर्ता छिरेपछि वाइसीएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न माग गरेका थिए । त्यसपछि चौकीभित्र दुबै पक्षबीच ढुंगामुढा हुँदा प्रहरी चौकीमा क्षति पुगेको हो ।

माओवादी कार्यकर्ताहरुले नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मेदवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा. १ च १२६२ नम्बरको जीप समेत तोडफोड गरेका छन् । आक्रोशित माओवादीहरुले अध्यक्षका उम्मेदवार खड्काको घरमा पनि तोडफोड गरेको नेपाली काँग्रेसले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro