आङकाजी शेर्पा सोलु दुधकुण्डको मेयरको पदमा सर्बाधिक लोकप्रिय

Ghorahi cement

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक वृत्तमा मात्र नभई जनस्तरमै पनि कसले चुनावी बाजी मार्छन् भन्ने आँकलन सुरु गर्न थालिएको छ । सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकामा भने नेकपा एमालेबाट मेयर पदका उम्मेदवार आङकाजी शेर्पाले नै जीत हासिल गर्ने चर्चा सुरु भईसकेको छ । नेकपा एमालेका उम्मेदवारहरु प्रति मतदाताको बढ्दो समर्थन र मतदाता माझ उम्मेदवारको लोकप्रियताका कारण मेयरमा आङकाजी शेर्पाको जीत सुनिश्चित रहेको सर्वत्र चर्चा छाउन थालेको छ ।

 

मेयरका उम्मेदवार शेर्पाले आफू सँग विकास र समृद्धिको वृहत्तर योजना रहेको र मेयरमा विजयी भई नगरपालिकाको विकासको नेतृत्व गर्न चाहेको बताउँदै आएका छन् । विकास प्रतिको आफ्नो भिजनलाई व्यवहारमा ढालेर नगरपालिकालाई एउटा नमुना नगरको रुपमा विकास गर्ने आफ्नो योजनालाई साकार पार्न आम मतदातालाई अनुरोध गरिरहेका छन् । शेर्पाको चुनावी प्रचारप्रसार अभियानमा एमालेका केन्द्रिय तथा जिल्लास्तरका सबै नेताहरु एक ढिक्का भएर लागिपरेका छन् । एमालेबाट यसअघि मेयरका आकांक्षीहरुले समेत शेर्पालाई अनवरत रुपमा साथ दिएका कारण पनि एमाले एक ढिक्का भएर लाग्दा परिणाम एमालेकै पोल्टामा पर्ने सुनिश्चित रहेको जनस्तरमा समेत चर्चा हुने गरेको छ ।

 

शेर्पाको जीतका आधारहरु

१. लोकप्रिय युवा नेता

आङ काजी शेर्पा युवा माझ एक लोकप्रिय युवा नेता हुन् । गत मंसिरमा सम्पन्न सोलु काँग्रेसको १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक ५६४ मत उनैले पाएका थिए । जब कि पूर्व जिल्ला सभापति आङ गेलु शेर्पाले समेत ४६७ मात्र ल्याएका थिए । आङ काजी शेर्पा पार्टी भित्र मात्र नभई बाहिर पनि उत्तिकै लोकप्रिय छन् । उनले सोलुखुम्बुका धेरै युवाहरुलाई विभिन्न भैपरी आउने काममा सहयोग गर्दै आएका छन् । मिलनसार व्यवहार भएका शेर्पासँग संगत गर्ने अधिकांश उनलाई मतदान गर्न काठमाडौ बाट जिल्ला प्रवेश गर्ने क्रम जारी छ ।

 

२. विपक्षीको झुटो प्रचार

नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार एवं निवर्तमान सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले गरेको झुटो प्रचारका कारण नगरपालिकाको वडा नं. ८, ९ र १० का मतदाता चिढिंएका छन् । उनले वडा नंं ८ र ९ को बीचमा पर्ने चट्याङघाटमा बन्दै नबनेको पूल बनिसकेको दाबी गर्दै गएको वैशाख ४ गतेको कान्तिपुर दैनिकमा समाचार छपाएका थिए । उक्त पूल हाल लथालिङ्ग अवस्थामा भए पनि ३ करोड ६५ लाखमा निर्माण सम्पन्न भएको दाबी गर्दै आफ्नो कार्यकालमा पालिकाकै लगानीमा ८ पक्की पूल शीर्षकमा झुटो समाचार छपाएका थिए । उनको झुटो प्रचारका कारण काँग्रेस पार्टीकै प्रतिबद्ध मत समेत आङ काजीले पाउने र जीतको लागि सहज हुने विश्लेषण गरिएको छ । हुँदै नभएको काम समेत सम्पन्न भएको भन्दै हाकाहाकी जनमतको अपमान गरेका उम्मेदवार शेर्पालाई साटो फेर्ने दाउमा बसेका मतदाताले वैशाख ३० पर्खिरहेका छन् ।

३. विपक्षी भित्रको आन्तरिक खिचातानी

सोलु दुधकुण्ड नगरपालिकामा नेकपा एमाले र काँग्रेस नै मुख्य प्रतिस्पर्धी दल हुन् । अन्य ठाउँमा काँग्रेस, माओवादी लगायत अन्य दलहरु गठबन्धन बनाएर चुनावी मैदानमा आए पनि सोलु दुधकुण्डमा सबै दलहरु एक्ला एक्लै भिडिरहेका छन् ।

काँग्रेसभित्र पनि गेलु काँग्रेस र बलबहादुर काँग्रेस भनेर दुई कित्तामा विभाजित छ । हालका मेयरका उम्मेदवार नाम्गेल जाङ्बु शेर्पा र उपमेयरका उम्मेदवार गान्धीमाया तामाङ दुवै गेलु पक्षीय काँग्रेसका हुन् । आफ्नो पक्षबाट कुनै पनि उम्मेदवार नबनाएको भनेर केसी पक्षीय काँग्रेस कार्यकर्ताहरु उनीहरुलाई हराउन भनेर खुलेरै लागेका छन् । विपक्षी र प्रतिस्पर्धी दलभित्र भएको आन्तरिक खिचातानीको फाइदा एमालेलाई पुग्ने निश्चित छ ।

 

४. सन्तुलित उम्मेदवार चयन

नेकपा एमालेले यस पटक सबै क्षेत्रमा सन्तुलन मिलाएर उम्मेदवारहरु उठाएका छन् । वडा तहमा खडा गरेका उम्मेदवारहरुले पाउने भोटको योग नै लगभग मेयर, उपमेयरले पाउने हुँदा जीतका लागि वडा तहका उम्मेदवारहरु जिम्मेवार हुन्छन् । यो चुनावमा अघिल्लो स्थानीय तहको निर्वाचनमा भागै नलिएका तिङ्लाको मतलाई विशेष महत्वका साथ हेरिएको छ । तिङ्लाको मत नै निर्णायक मत हुनसक्ने आंकलन गरिरहेका बेला एमालेले सोलु दुधकुण्ड नगरपालिका वडा नं. ११ की मोहन कुमारी कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ भने वडा नंं ११ को वडाध्यक्षमा मानबहादुर कटुवाललाई उम्मेदवार बनाएको छ । कटुवाल तिङ्लाका समाजसेवी एवं सरकारी तथा गैरसरकारी संस्थामा लामो समयदेखि विभिन्न पदमा क्रियाशील अनुभवी व्यक्ति हुन् ।

 

५. धार्मिक पूजाको प्रभाव

२०७६ सालको वैशाखमा युवा नेता आङ काजी शेर्पाले नगरपालिकाको वडा नंं. ८, केरुङमा बज्रगुरु पूजा लगाएका थिए । त्यत्तिखेर पूजा मूल आयोजक समितिका अध्यक्ष आङकाजी शेर्पा नै थिए । बौद्धमार्गीहरुका लागि त्यत्ति ठूलो धार्मिक कार्यमा भाग लिने अवसर प्रदान गरेकोमा आङ काजी प्रति गुण फर्काउन चाहने ठूलो जमात छ । बौद्धमार्गीहरुले उक्त गुण कहीं न कहीं वैशाख ३० को मतदानमा व्यक्त गर्ने उम्मेदवार आङ काजीको अपेक्षा छ ।

 

६. प्रभावशाली व्यक्तित्व

आङ काजी शेर्पाको प्रभावशाली व्यक्तित्वका कारण पनि उनी प्रति मतदाताको आकर्षण बढ्दो छ । हालै सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. १ मा भएको चुनावी सभामा २०७४ को निर्वाचनमा काँग्रेसको तर्फबाट वडा अध्यक्ष जितेका छोङबा लामाको समेत उपस्थिति थियो । उनले समेत आङ काजीलाई अँगालो हालेर भोट एमालेलाई नै दिने संकेत गरेका थिए । एमालेले त्यस वडाबाट यसपटक छोङ्बा शेर्पालाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । नाताले एमालेका छोङ्बा काँग्रेसका बाजे पर्ने हुन् । नातीले बाजेलाई सहयोग गर्नु आफ्नो कर्तव्य नै भएको निवर्तमान वडाध्यक्ष लामाले बताउँदै आएका छन् ।

 

७.पार्टी भित्र एक ढिक्का

मेयरका उम्मेदवार आङकाजीको पक्षमा पार्टी पंक्ति एक ढिक्का छ । चुनावी कार्यक्रमहरु प्रायः प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी देखि वर्तमान उपमेयर कल्पना राई, केन्द्रिय सदस्य मानवीर राई तथा जिल्ला तहका नेताहरु महेश किराँती, दिपक राजभण्डारी, डि.बी. नेपाली लगायतको उपस्थितिमा हुने गरेका छन् । पार्टीको सबै शक्ति लागि परेकाले पनि शेर्पाको जीत सुनिश्चित भएको नेताहरु बताउँछन् ।

 

८. काजीको पक्षमा जुट्दै गएको जनलहर

व्यवसायिक जीवनमा एक पछि अर्को सफलता हासिल गर्दै आएको शेर्पाको अहिले पनि ठूला ठूला परियोजनाहरु सन्चालित छन् । ती परियोजनाहरु मार्फत विकासको मार्गचित्र दर्शाई सकेका शेर्पाले झनै नगरपालिकाको नेतृत्व गर्न पाए नगरपालिकाको समग्र विकासको रुप फेरिन्छ भन्ने विश्वास जनमासमा पर्दै गएको छ । जसका कारण शेर्पाको लोकप्रियता बढ्दै गएको छ । विभिन्न वडामा आयोजना गरिएको चुनावी सभामा आङकाजी शेर्पा प्रतिको जनलहर बढ्दो छ ।

 

२०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नाम्गेल जाङबु शेर्पाले २ हजार ७ सय ५१ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार आङ इगेले (झलक) शेर्पाले २ हजार ६ सय १ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार शेर्पाले भन्दा कांग्रेसका उम्मेदवारले १ सय ५० मत मात्र बढी ल्याएका थिए । तत्कालीन स्थानीय तहको निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकामा १० वटा मात्र वडा थिए । जस अन्तर्गत वडा नं. १, वडा नं. २, वडा नंं ४ र वडा नंं ९ को वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको थियो भने बाँकी ६ वटा वडाहरु (वडा नं. ३, ५, ६, ७, ८ र १०) मा नेकपा एमालेले जितेको थियो । यसपटक भारी मतान्तरले एमालेका उम्मेदवारहरुले जीत हासिल गर्ने सम्बन्धित उम्मेदवारहरुले दाबी गर्दै आएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro