दुई लाख कर्मचारी निर्वाचनस्थलमा खटिए

काठमाडौं । स्थानीय निर्वाचनको तयारी र शुक्रबारदेखि लगातार चार दिन सार्वजनिक बिदाका कारण मुलुकको प्रशासनिक क्षेत्र लामो समय ठप्पजस्तै हुने भएको छ । त्यही कारणले गर्दा पनि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार सुनसान भइसकेको छ ।

 

स्थानीय निर्वाचनको प्रचारप्रसारका क्रममा प्रधानमन्त्री र मन्त्री सिंहदरबारमा आउन छाडेपछि सेवाग्राहीको भीड कम हुँदै गएको सरकारी अधिकारीहरू बताउँछन् । धेरै मन्त्री चुनावका लागि आ–आफ्नो जिल्लामा छन् । चुनाव गराउन सहसचिवसम्मका कर्मचारी खटिएका छन् । सरकारी कार्यालय, शैक्षिक संघसस्था लगायतका अधिकांश कर्मचारी निर्वाचनमा खटिएका छन् ।

 

निर्वाचन आयोगका अनुसार सुरक्षाकर्मीबाहेक करिब २ लाख कर्मचारी निर्वाचनमा परिचालित छन् । सुरक्षाकर्मी भने पौने ३ लाख संख्यामा परिचालन गरिएको छ ।

 

सरकारले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्राको सञ्चिति बढाउने भन्दै आगामी जेठ १ देखि आइतबार पनि बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ । शुक्रबार मतदान छ । सरकारको पछिल्लो निर्णयका कारण शनिबारसँगै आइतबार पनि बिदा हुने भएको छ भने सोमबार बुद्धजयन्तीको सार्वजनिक बिदा छ ।

 

विद्यालयमा मतदान केन्द्र रहेको र शिक्षक निर्वाचनमा खटिएको हुनाले बुधबारदेखि नै पठनपाठन बन्द गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ जिल्लाका शैक्षिक विकास तथा समन्वय इकाइलाई २८ देखि ३० गतेसम्म बिदा दिन निर्देशन दिएको थियो । तर सार्वजनिक बिदा थपिएकाले विद्यालय एक साता बन्द हुने भएको हो । कान्तिपुर दैनिकबाट

Shangri-la Development Bank Ltd.
Nepali patro