सबै सहकारीमा उस्तै संकट

काठमाडौं । सहकारी संस्थाहरुमा चरम बेथिति बढेको छ । पछिल्लो समय ठूलो संख्यामा सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुले हजारौँ बचतकर्ताहरुको रकम लिएर भागेपछि सहकारी संस्थामा बचत जम्मा गर्ने सर्वसाधारणहरु पीडित बनेका छन् ।

यो अवस्थामा सबै सहकारी संस्थाहरुमा उस्तै संकट देखिएको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले अपिल नै जारी गरेको छ । महासंघले उक्त अपिलमार्फत भनेको छ, ‘कोभिड १९ को महामारी, रुस युक्रेन युद्धसँगै बढेको वस्तु तथा सेवाको मूल्यवृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव भएको सबैमा विदितै छ । यसको असरले कतिपय सहकारी संस्थामा समेत तरलताको चाप पर्न गई सदस्यहरुको बचत रकम फिर्ता गर्न कठिन भइरहेको तथ्य सार्वजनिक भएको छ ।’

 

यस सन्दर्भमा सहकारी संघ, संस्था तथा सदस्यहरुमा धैर्यताको साथ सतर्कता अपनाई थप संयमितरुपमा कदम चाल्न महासंघले आग्रह गरेको छ । करिब एक वर्षदेखि देखिएको तरलतता संकटको असर सहकारी क्षेत्रमा समेत देखिनथालेको अवस्थालाई मध्यनजर गर्र्दै आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थाभन्दा बढी तरलता राख्न महासंघले आग्रह गरेको छ । यसैगरी सदस्य एवं सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाबारे निरन्तर समन्वय र संवाद जारी राख्न पनि महासंघले अपिल गरेको छ ।

सहकारीका मूल्य मान्यता र सिद्धान्तबमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम राख्न, परिस्थिति सहज नहुँदासम्म घरजग्गालगायतका अनुत्पादक क्षेत्रहरुमा ठूलो लगानी नगर्न पनि महासंघले अपिल गरेको छ । यसैगरी जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रुपमा असुलीमा केन्द्रित हुन, महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरुमा सहभागी भई संस्थागत क्षमता मजबुत बनाउन, सहकारी अभियानको ऐक्यबद्धतालाई कायम राख्न माथिल्लो संस्थाहरुसँग नियमित सम्पर्कमा रहँदै यथासम्भव अभियानभित्र कारोबार गर्न पनि महासंघले अपिल गरेको छ ।

 

यसका अतिरिक्त राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय संघहरुले आफ्ना सदस्य संस्थाहरुसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न एवं सदस्यहरुले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरुसँग मात्र कारोबार गर्न महासंघले अपिल गरेको छ । आर्थिक दैनिकमा

Shangri-la Development Bank Ltd.
Nepali patro