मंसिरमा बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्यो, ६ बैंकले घटाउँदा १४ बैंकको यथावत्

87
shares
Nabil bank

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ३.९०६ प्रतिशतमा झरेको छ। कात्तिक महिनामा यस्तो ब्याजदर औसत ४.०१३ प्रतिशत रहेको थियो। यससँगै औसत ब्याजदरमा ०.१०७ प्रतिशत विन्दुको गिरावट आएको छ।

मंसिर महिनामा सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक माछापुच्छ्रे बैंक बनेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट एक प्रतिशत विन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ।

त्यस्तै, कृषि विकास बैंकले ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशतमा झारेको छ। एनएमबी बैंकले ४.५ प्रतिशतबाट ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट ३.७५ प्रतिशत तथा कुमारी बैंकले ३.७ प्रतिशतबाट ३.६१ प्रतिशत कायम गरेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ब्याजदर ३.७ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशतमा सीमित गरेको छ।

ब्याजदर घटाउने बैंकहरूको संख्या ६ पुगे पनि मंसिरमा केही बैंकले भने तुलनात्मक रूपमा आकर्षक ब्याजदर कायम राखेका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५ प्रतिशत ब्याजदर सानिमा बैंकले दिने भएको छ। त्यसपछि एनएमबी र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर दिने भएका छन्।

त्यस्तै, हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा ४ प्रतिशत वा सोभन्दा बढी ब्याजदर उपलब्ध गराउने भएका छन्।

अधिकांश बैंकले ब्याजदरमा परिवर्तन नगरे पनि औसत ब्याजदर घट्नुले बैंकिङ प्रणालीमा निक्षेपको ब्याजदर क्रमशः ओरालो लागिरहेको संकेत गरेको छ। मंसिर महिनामा २० मध्ये १४ बैंकले पुरानै ब्याजदर कायम राख्दा ६ बैंकले मात्रै ब्याजदर घटाएका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x