सरकारी जग्गा अतिक्रमणमा जनप्रतिनिधि नै सक्रिय, बालेन सरकार कहिले तात्ने ?

87
shares
Nabil bank

राज्यको सम्पत्तिको संरक्षण गर्नु जनप्रतिनिधिको दायित्व हो । देश र जनताको हितमा काम गर, सरकारी सम्पत्तिको सुरक्षा गर भनी जनताले भोट दिएर उनीहरुलाई पदमा पुर्याएका हुन्छन् । विडम्बनापूर्ण कुरा के छ भने, चुनावका बेला सरकारी सम्पत्तिको संरक्षण गर्ने ठूल्ठुला वाचा गर्ने जनप्रतिनिधिहरु पदमा पुगेपछि भने आफैं सरकारी सम्पत्तिको दोहन र अतिक्रमणतिर सक्रिय हुन्छन् ।

यसका जल्दाबल्दा उदाहरण हुन्–भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५, का वडाध्यक्ष राजकुमार जोशी । उनले आफ्नै वडास्थित बाडागाउँको सरकारी जग्गा बाटोमा पारेर वा दर्ता गरेर प्लटिङ गरिरहेको आरोप लागेको छ । वडाध्यक्षको काम आफ्नो क्षेत्रभित्रको सरकारी सम्पत्तिको संरक्षण गर्नु हो ।अतिक्रमित सरकारी सम्पत्ति पुनः राज्यको स्वामित्वमा ल्याउनु हो । तर, जोशी भने अतिक्रमण गरेर बचेका सरकारी जग्गासमेत दर्ता गरेर प्लटिङ गरिरहेका छन् । यसरी जनप्रतिनिधिकै सक्रियतामा सरकारी जग्गा प्लटिङ गर्ने कार्य भइरहँदा केन्द्रिय सरकार भने मौन छ । बालेन सरकारलाई यसतर्फ कुनै मतलब नै छैन ।

जोशी ०७४ सालदेखि वडाध्यक्ष छन् । उनले एसएलसीमात्र पास गरेका छन् । उनको पृष्ठभूमि केलाउने हो भने जग्गा दलाली हुन् । जोशीले सुशील भैरवथान र बाटोको जग्गासमेत मिचेर घर ठड्याएका छन् । पहिले मन्दिरको घर हड्पे, अहिले सरकारी जग्गा नै प्लटिङ गर्दैछन् । भक्तपुरमा थुप्रै सरकारी जग्गा प्लटिङ भइसकेको छ ।
भक्तपुर नगरपालिका वडा नम्बर १०, स्थित नलिञ्चोकमा समेत सरकारी जग्गा प्लटिङ गरिएको छ । पहिले बाँसघारी रहेको उक्त ठाउँ फडानी गरेर प्लटिङ गरिएको छ । यसमा राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुकै लगानी गरेको बताइन्छ । विशेषगरी एमाले नेता महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको लगानी रहेको स्थानीय बासिन्दा नै बताउँछन् ।

क्षेत्र नम्बर २, मा जतिपनि सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, मठमन्दिर, राजपरिवार, खोला नदीलगायतका जग्गा दर्ता गरेर प्लटिङ गरिएको छ, त्यसमा सबैभन्दा ठूलो हात महेश बस्नेतकै रहेको बताइन्छ । उनले पर्दाभित्र बसेर यस्ता जग्गा प्लटिङमा लगानी गर्दै आएका छन् । मेयर थापामाथि त सरकारी जग्गा हिनामिनाको आरोप नै छ ।

त्यसैले त उनले आफ्नो नगर क्षेत्रभित्र अतिक्रमित सरकारी सम्पत्ति र जग्गा खोजतलासमा चासो देखाएका छैनन् । सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन रहेको ठाउँ आसपास नै थुप्रै सरकारी जग्गा अतिक्रमण भएको छ । नगरपालिकाको कार्यालय छेउ नै सडक विभाग र महालेखापरीक्षकको कार्यालय छ भने आसपास थुप्रै घरलगायत संरचना बनेका छन् । तीन दशकअघि यही ठाउँमा एउटै घर नरहेको स्थानीय बुढापाका दाबी गर्छन् ।

उनीहरुका अनुसार त्यतिखेर यो ठाउँ चौर थियो, जहाँ स्थानीयहरुले आफ्नो गाइवस्तु चराउँथे । पहिला नगरपालिका भाडामा बसेको ठाउँमा समेत सरकारी जग्गा अतिक्रमण भएको छ । त्यहाँ नेवार र थापाहरुले सरकारी जग्गा नै हड्पेर घर ठड्याएका छन् । स्थानीयका अनुसार वडाध्यक्ष राजकुमार जोशीकै घरमुनि ढुंगेधारा र आल थियो । अहिले ढुंगेधारा छ न आल । यतिमात्र होइन, सार्वजनिक चौरसमेत मासेर जोशीकै भाइले घर बनाएका छन्, सँगै नेमकिपाका कार्यकर्ताले ।

थोरै बचेको चौरको जग्गामा सरकारी विद्यालय सञ्चालन भइरहेको छ । भक्तपुरका दुवै क्षेत्रमा एक लाख ६८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण भएको सरकारी तथ्यांक नै छ । कसैले सरकारी जग्गा कानून रुपमै आफ्नो नाममा दर्ता गराएका छन् त कतिपयले दर्ता नगरी कब्जा जमाइरहेका छन् । सरकारी जग्गा भाडामा लगाएर पैसासमेत कमाइरहेको अवस्था छ । यहाँ सरकारी जग्गा हड्पेको विषयमा कसैले बोलेमा एमाले र नेमकिपाका कार्यकर्ता सिधैं कुट्न आउँछन् । जिल्लाबाटै निस्कनुपर्ने अवस्थासमेत आउँछ ।

त्यसैले, आँखैअगाडि सरकारी सम्पत्ति व्यक्तिका नाममा गइरहँदा वा कब्जा हुँदासमेत भक्तपुरबासी चुपचाप बस्नुपरेको छ । ७७ जिल्लामध्ये सबैभन्दा सानो जिल्ला भक्तपुर हो । सानो जिल्ला भएपनि भक्तपुरमा थुप्रै सरकारी र खेतीयोग्य जग्गा थियो । यहाँका जमिनलाई अहिलेपनि उर्बर मानिन्छ । तर, अहिले भक्तपुरमा खाली जमिन पाउन मुस्किल पर्न थालिसक्यो । खेतीयोग्य जमिनहरु धमाधम प्लटिङ गरेर आनाकै २५ लाखदेखि करोडौंमा बेचियो । दुई दशकअघि धान, गहुँ उत्पादन हुने जमिनमा अहिले घर, भवनहरु ठडिएका छन् ।

भक्तपुरमा जग्गा प्लटिङ मौलाउनु, सरकारी सम्पत्ति र जग्गा व्यक्तिका नाम वा कब्जामा पुग्नुमा दुई राजनीतिक दल प्रमुख जिम्मेवार छन्, एमाले र नेमकिपा । उनीहरुले नै आफ्ना कार्यकर्तालाई यहाँको सरकारी जग्गा हड्पन लगाएका हुन् । यसरी सार्वजनिक सम्पदा (ढुंगेधारा, इनार, पाटीपौवा, चौतारा, कुवा, कुलो, राजकुलोलगायत) मासेर निजी घर वा भवन ठड्याउँदासमेत पुरातत्त्व विभागलाई कुनै मतलब छैन । सम्पदाको संरक्षण गर्नुपर्ने विभाग निदाएर बसेको छ भने कर्मचारीहरु मोजमस्तीमा रमाइरहेका छन् । नभए यो अवस्था आउने नै थिएन । वि.सं. २०२९ सालसम्म राधेराधेस्थित हनुमन्ते खोला बगेर कमेरोटार वा सल्लाघारी तीनकुनेसम्म आइपुग्थ्यो भन्ने अझैपनि छन् ।

अहिले यही खोला कुलोमा परिणत भएको छ । बर्खायाममा खोला उर्लिन नदिन नगरपालिका आफैंले खोलामा डोजर चलाउँदै आएको छ भने अब त झन् करिडोर बनाउने तयारी गरिँदैछ । यस्तै, सल्लाघारी तीनकुनेमा विकुलाल खिउँजुले तीन वटा ढुंगेधारा र राजकुलो मासेर घर ठड्याएको आरोप छ ।तीनकुनेस्थित राजपरिवारको सम्पत्ति अर्थात् हाल नेपाल ट्रष्टको संरक्षणमा रहेको एक सय दश रोपनी जग्गासमेत व्यक्तिको कब्जामा पुगेको छ ।

विशेषगरी नेमकिपाका कार्यकर्ताले यो जग्गा कब्जा गरेर घर ठड्याएका छन्, उनीहरुसँग सम्पन्नता प्रमाणपत्रसमेत छ । एक सय दश रोपनीमा अहिले ६०–६५ रोपनी जग्गामात्र बाँकी छ । त्यसमा पनि नगरपालिका आँखा गाडेर बसेको छ । अहिले त सो जग्गा भाडामा लगाएर भक्तपुर नगरपालिकाले मासिक करोडौं आम्दानी गरिरहेको छ ।भक्तपुरमा जनप्रतिनिधिहरुकै मिलीभगतमा सरकारी जग्गा अतिक्रमण हुँदै आइरहेको छ । नगरपालिका आफैंले जग्गा प्लटिङ गर्छ ।

अनि स्थानीय तहको काम सरकारी सम्पत्तिको संरक्षण गर्ने हो कि जग्गा प्लटिङ गरेर बेच्ने ? त्यसैले, अब बालेन सरकारको आँखा भक्तपुरतिर पनि जाओस् । नत्र यहाँ केही बचेका सरकारी जग्गा र सम्पदासमेत व्यक्तिका कब्जामा पुग्नेछन् । सरकारी जग्गा अतिक्रमण गर्ने जनप्रतिनिधिलाई कडा कारबाही गरियोस् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x