प्रत्यक्षतर्फ १५४ सिटको नतिजा आयो, यी ११ स्थानमा बाँकी
वि.सं.२०७९ मंसिर ११ आइतवार
shares
आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ। हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकिकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सातरसात क्षेत्रमा विजयी भएका छन्। साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन्।
निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन। केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो।
हालसम्म दोलखा-१, स्याङ्जा-२, सुनसरी-१, ३ र ४, बाजुरा, इलाम-१, उदयपुर-१, महोत्तरी-१ र रामेछापको नतिजा आउन सकेको छैन।
दोलखा-१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन। राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो। त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन।
सुनसरी-१ मा भने मतगणना जारी छ। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहनु भएको छ भने उहाँलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहनु भएको छ।
सुनसरी-३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहनुभएको छ।
सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ।
बाजुराको बूढीनन्दा नगरपालिका-५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन। इलाम-१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा ९एकिकृत समाजवादी०का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ।
उदयपुर-१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ।
महोत्तरी-१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उहाँलाई पछ्याइरहनु भएको छ।
रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राख्नुभएको छ भने उहाँलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहनुभएको छ।




























