जनक शिक्षा सामग्री केन्द्रमा भ्रष्टाचार भएको पत्रकारहरुको दाबी, महाप्रवन्धक झालाई तत्काल पक्राउ गरेर अनुसन्धान थाल्न माग 

हामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा पनि उजुरी दर्ता गराएका छौं

काठमाडौं। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा ड्यामेज कागज कवाडीमा बेचेर चरम भ्रष्टाचार गर्न खोजिएको पत्रकार तथा अधिकारकर्मीहरुको आरोप छ । उनीहरुका अनुसार गत पुष २७ गते करिव एक लाख ५३ हजार केजी कागज भएका १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । 

ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने कार्य गरेको पाइएसँगै प्रहरीले १३ वटा कन्टेनर अहिले नियन्त्रणमा लिएको पनि उनीहरुको खुलासा छ ।

जनक शिक्षाको भ्रष्टाचारलाई बाहिर ल्याउन अहोरात्र खटिएका पत्रकारहरु कुश्लव केसी, सन्दीप रेग्मी र अधिवक्ता यज्ञमणी न्यौपानेको टिमले घटना भएको भोलिपल्ट अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरीसमेत दिएका छन् । तर, उजुरी दिएको आठ दिन वितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेपछि उनीहरुले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

जनक शिक्षामा ठूलो घोटला हुँदैछ भन्ने गोप्य सूचना भित्रबाटै जानकारीमा आएको कुश्लवले बताए । जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागेपनि यसमा लाखौं बालबालिकाको भविष्य जोडिएकोले आफूहरुले उक्त विषय सार्वजनिन गरेको उनको स्पष्टोक्ति थियो ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता सन्दीप रेग्मीले सरकारले अनुसन्धानमा आलटाल गरेर भ्रष्टाचारमा मुछिएकाहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । आफूहरुको आशंका जनक शिक्षाका पदाधिकारीहरुमाथि रहेको र अख्तियारले शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयले अख्तियारलाई एक–अर्कालाई देखाउँदै अनुसन्धान गर्न आलटाल गरिरहेको उनको आरोप छ ।

‘हामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा पनि उजुरी दर्ता गराएका छौं । तर समस्या के छ भने अख्तियारले जनक शिक्षा चाहीँ शिक्षा मन्त्रालय मातहतको कार्यालय हो । शिक्षा मन्त्रालयको प्रतिवेदन कुर्नुपर्छ भन्छ । शिक्षा मन्त्रालयबाट यो काम अख्तियारको हो भनेर भ्रष्टाचारमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन खोजिएको छ,’उनले भने ।

त्यसैगरी, अधिवक्ता यज्ञमणी न्यौपानेले आफूहरुले भ्रष्टाचारको सूचना दिएको आज आठ दिन भइसक्दा पनि राज्यले यसबारेमा कुनै चासो नदेखाएको गुनासो पोखे । उक्त विषयलाई यथास्थितिमा राख्न खोज्नुमा गम्भीर आशंका पैदा भएको उनको टिप्पणी थियोे ।

जनक शिक्षाका महाप्रवन्धक अनिल कुमार झा, खरिद प्रमुख र स्टोर प्रमुखलाई तत्काल पक्राउ गरेर अनुसन्धान प्रकृया अगाडि बढाउन पनि उनले सरकारसमक्ष आग्रह गरे ।

‘यी कन्टेनर र यसमा संलग्न व्यक्ति, जनक शिक्षा सामाग्रीका जिएम अनिल कुमार झासहितका खरिद प्रमुखलाई पक्राउ किन नगरिएको ? कि अख्तियारले भन्नुपर्यो यसमा हाम्रो पनि संलग्नता छ भनेर, होईन भने उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ उनले भने ।

साथै, अख्तियारले आफ्नो क्षेत्राधिकार शिक्षा मन्त्रालयमा बुझाउन नमिल्ने उनको तर्क छ । ‘अख्तियारले जनक शिक्षा सामाग्रीलाई कारबाही नगर्नुको कारण के ? अख्तियारका प्रमुख र जनक शिक्षाका प्रमुख एउटै पद्धतीबाट नियुक्ति भएको र कारबाहीको प्रक्रिया अगाडि नबढाईएको भन्ने कुरा बाहिर आएको छ,’ उनले भने ।

Shangri-la Development Bank Ltd.
Nepali patro