काठमाडौंमा दिनभर बदली हुने,केही स्थानमा पानी पनि पर्ने

1.3K
shares
Nabil bank

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार बिहान वर्षा भएको छ । काठमाडौंसहित गण्डकी प्रदेश, लुम्बिनी प्रदेशलगायत स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौंका केही स्थानमा छिटपुट र केही स्थानमा हल्का वर्षा भएको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

 

उनका अनुसार काठमाडौंसहित देशका केही स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ । केही स्थानमा पानी पनि पर्नेछ । तर, ठूलो र निरन्तर पानी नपर्ने उनले बताए ।

 

“दिनभर बदली हुने देखिन्छ । कतै छिटपुट र कतै हल्का वर्षा पनि हुन्छ । वर्षा निरन्तर हुँदैन । रोकिने, पर्ने हुन्छ,” उनले बाह्रखरीसित भने, “दिनभर बादल लाग्ने देखिन्छ । धुम्म हुन्छ । घाम लाग्दैन ।”काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशमा आज राति पनि वर्षाको सम्भावना रहेको उनले बताए । भोलिदेखि मौसम खुल्ने उनले जानकारी दिए ।

 

“राति पनि केही स्थानमा वर्षाको सम्भावना देखिन्छ । भोलिदेखि सुधार हुन्छ,” उनले भने ।महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च केही भूभागमा हिमपात समेत भइरहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

civil hospital
Hams Hospitals