यस्तो हुनेछ तिहारमा मौसम
वि.सं.२०८० कात्तिक २६ आइतवार
shares
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा शनिबार हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशबाट मनसुन बाहिरिएयता नेपालमा पश्चिमीको वायुको आंशिक प्रभाव रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । शनिबार भने पश्चिमी वायुको सामान्य प्रभाव देखिएको उनले बताए ।
‘पोस्ट मनसुन’मा पानी नपर्ने भन्ने नहुने उनले स्पष्ट पारे । “आज काठमाडौंसहित केही स्थानमा हल्का वर्षा भएको छ, भारी होइन,” उनले भने, “पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पोस्ट मनसुनमा पानी नपर्ने भन्ने हुँदैन ।”
उनका अनुसार यो तिहार अवधिमा काठमाडौंसहित अधिकांश भूभागमा ठूलो वर्षाको सम्भावना छैन । पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने उनले बताए ।
“पहाडी भूभागमा बदली रहने देखिन्छ । हल्का वर्षाको सम्भावना छ,” मौसमविद् झाले भने, “त्यो क्षणिक हुन्छ । छिटपुट मात्र हुन्छ । ठूलो र धेरै बेर हुँदैन ।”