भूमि प्रशासनको स्थानीयकरण: अवसर र चुनौतीको दोसाँधमा स्थानीय सरकार

145
shares
Nabil bank

 

मुलुकको आर्थिक रूपान्तरण, सामाजिक न्याय, सांस्कृतिक पहिचान र नागरिकको राजनीतिक सामर्थ्यको मूल आधार भूमि हो। नेपाल जस्तो कृषिप्रधान र भौगोलिक विविधताले भरिएको देशका लागि भूमिको समुचित व्यवस्थापन र वैज्ञानिक उपयोग राष्ट्रिय समृद्धिको पहिलो प्रस्थानबिन्दु बन्नुपर्ने हो। तर, हाम्रो इतिहास नियाल्ने हो भने भूमि प्रशासन सधैँ केन्द्रीकृत, झन्झटिलो र भ्रष्टाचारजन्य विकृतिले ग्रस्त रहँदै आयो। सिंहदरबार र सदरमुकाममा केन्द्रित प्रशासनिक संरचनाका कारण गाउँ–गाउँका सर्वसाधारणले आफ्नो जग्गाको सानोतिनो स्रेस्ता राख्न, कर बुझाउन वा सामान्य विवाद निरूपण गर्न पनि महिनौँ कुर्नुपर्ने र सास्ती भोग्नुपर्ने बाध्यता कायमै रह्यो।

 

नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेसँगै सिंहदरबारमा सीमित अधिकारलाई नागरिकको घरदैलोको सरकार अर्थात् स्थानीय तहसम्म पुर्‍याउने ढोका खोल्यो। यसै विकेन्द्रीकरणको मर्मअनुरूप अहिले भूमि प्रशासन र भू-उपयोग व्यवस्थापनको कार्यलाई स्थानीयकरण गर्ने प्रक्रिया आरम्भ भएको छ। स्थानीय सरकारहरू जनताको सुख–दुःखका प्रत्यक्ष साक्षी भएकाले आफ्नो क्षेत्रभित्रको भूमिको वास्तविक अवस्था, आवश्यकता र सम्भाव्यताका बारेमा उनीहरू नै बढी जानकार हुन्छन्। तसर्थ, भूमिको उत्पादकत्व बढाउन, अव्यवस्थित सहरीकरण रोक्न, खेतीयोग्य भूमिको खण्डीकरण नियन्त्रण गर्न र भूमिहीन सुकुम्बासीहरूलाई सामाजिक न्याय प्रदान गर्न भूमि प्रशासनको स्थानीयकरण आजको अनिवार्य आवश्यकता बनेको छ।

 

कानुनी जग र पालिकाको बहुआयामिक जिम्मेवारी

भूमि प्रशासनलाई व्यवस्थित र स्थानीयकरण गर्न नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहलाई भूमि कर, मालपोत, घरजग्गा रजिस्ट्रेसन शुल्क र स्थानीय अभिलेख व्यवस्थापनको एकल अधिकार सुम्पेको छ। त्यस्तै, अनुसूची ९ मा भूमि नीतिलाई साझा अधिकारको सूचीमा राखिएको छ, जसको अर्थ सङ्घीय कानुनी सीमाभित्र रही स्थानीय तहले पनि आवश्यक नियम तथा कार्यविधि बनाउन सक्छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय भूमिको नापजाँच, लगत अद्यावधिक र भू-उपयोग योजनाको तर्जुमा गर्ने स्पष्ट कार्यक्षेत्र तोकेको छ। भू-उपयोग ऐन, २०७६ र भू-उपयोग नियमावली, २०७९ ले स्थानीय तहलाई नै भू-उपयोगको मुख्य कार्यान्वयनकर्ता बनाएको छ। यसअनुसार गाउँपालिका वा नगरपालिकाको कार्यपालिका नै ‘स्थानीय भू-उपयोग परिषद्’ मा रूपान्तरित भई आफ्नो क्षेत्रको जग्गालाई कृषि, आवासीय, व्यावसायिक वा औद्योगिकसहित १० वटा क्षेत्रमा वर्गीकरण गर्ने पूर्ण अधिकार पाएका छन्।

 

भूमिसम्बन्धी ऐनको आठौँ र नवौँ संशोधनले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने ऐतिहासिक प्रक्रियामा लगत सङ्कलन र प्रमाणीकरण गरी सिफारिस गर्ने कानुनी जिम्मेवारी पनि पालिकाहरूलाई नै सुम्पेको छ। यी कानुनी व्यवस्थाहरूले स्थानीय सरकारलाई नीति निर्माणदेखि कार्यान्वयनसम्मको बलियो जग त दिएका छन्, तर कागजमा जति प्रगतिशील देखिए पनि व्यावहारिक धरातल भने अझै चुनौतीपूर्ण छ।

 

वर्गीकरणको सुस्त गति र हालसालैको नीतिगत तदारुकता

भू-उपयोग योजना र कित्तागत जग्गा वर्गीकरणको व्यावहारिक कार्यान्वयनको पाटो अझै पनि सुस्त देखिन्छ। मुलुकका ७५३ स्थानीय तहमध्ये हालसम्म ३४३ पालिकाले मात्र वर्गीकरणको कार्य पूर्ण रूपमा सम्पन्न गरेका छन्। बाँकी पालिकाहरूमध्ये १६९ ले तथ्याङ्क सङ्कलन गरिसकेका छन् भने १३४ पालिका मापदण्ड तयार गरी नक्सा सुधार्ने काममा अलमलिएका छन्। आन्तरिक विवाद र स्रोत साधनको अभावका कारण ४७ वटा पालिकाले त अझै कार्य नै सुरु गर्न सकेका छैनन्। हालसम्म कागेश्वरी मनोहरासहित झापाको शिवसताक्षी, काभ्रेपलाञ्चोकको भुम्लु र उदयपुरको चौदण्डीगढी गरी चारवटा पालिकाले पूर्ण मालपोत तथा नापी सेवा सुरु गरिसकेका छन् भने देशभरका अन्य २०७ स्थानीय तहले यो सेवा सञ्चालन गर्न आवेदन दिई पूर्वाधार तयारी गरिरहेका छन्। जग्गा वर्गीकरणको यही सुस्त गतिका कारण देशभर कित्ताकाट रोकिँदा अर्थतन्त्र र रियल एस्टेट बजारमा गम्भीर असर परेको छ।

 

यही संकटलाई चिर्न सरकारले हालसालै कडा नीतिगत कदम चालेको छ। मन्त्रीस्तरीय निर्णय मार्फत देशका बाँकी रहेका सबै पालिकाहरूमा आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासन सेवा स्थानीय तहबाटै सुरु गर्ने द्रुत योजना अघि सारिएको छ। यसका लागि ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’, ‘भूमि सम्बन्धी (एक्काइसौं संशोधन) नियमहरू, २०८३’ र ‘मालपोत नियमावलीको नवौँ संशोधन, २०८३’ समेत लागू गरिसकिएको छ। पालिकाहरूलाई कार्यसम्पादनमा सहजता होस् भनी ‘स्थानीय तह एकद्वार सेवा प्रवाह कार्यविधि, २०८३’ र नयाँ निर्देशिकाहरू स्वीकृत गरी पठाइएका छन्। केन्द्रमा रहेका नापी तथा मालपोत सेवालाई स्थानीय तहमा हस्तान्तरण गरी सेवा सुरु गर्ने देशकै पहिलो पालिका काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका बनेको छ।

 

धरातलीय चुनौती र व्यावहारिक जटिलता

सरकारले छोटो अवधिमा सबै पालिकामा यो प्रणाली लागू गर्ने नीति लिएपछि धरातलमा केही गम्भीर र नयाँ व्यावहारिक चुनौतीहरू थपिएका छन्। सबैभन्दा ठूलो अभाव प्राविधिक जनशक्ति र डिजिटल पूर्वाधारको हो। भूमि प्रशासन अत्यन्तै प्राविधिक विषय भएकाले यसका लागि नापी नक्सा बुझ्ने, जीआईएस चलाउन सक्ने र भू-सूचना प्रणाली बुझेका जनशक्तिको आवश्यकता पर्दछ। तर, धैरैजसो पालिकाहरूमा आफ्नै अमिन वा सर्वेक्षक छैनन्। मालपोत र नापीले प्रयोग गर्दै आएको भू-सूचना प्रणाली र ‘मेरो कित्ता’ सफ्टवेयरलाई स्थानीय तहको डिजिटल प्रणालीसँग सुरक्षित रूपमा जोड्नु प्राविधिक रूपमा निकै जटिल छ। ग्रामीण क्षेत्रमा बारम्बार सर्भर डाउन हुने र साइबर सुरक्षाको जोखिम उत्तिकै उच्च छ। पर्याप्त भौतिक पूर्वाधार र सर्भरहरू जडान नगरी हतारमा सेवा सुरु गर्न खोज्दा सेवा प्रवाह नै ठप्प हुन सक्ने जोखिम बढेको छ।

 

अर्को प्रमुख चुनौती अधिकार क्षेत्रको दोहोरोपन र सङ्घीय तथा स्थानीय निकायबीच समन्वयको कमी हो। संविधानले भूमि कर र अभिलेखको अधिकार स्थानीय तहलाई दिए पनि व्यावहारिक रूपमा जग्गाको मुख्य स्रेस्ता अझै पनि सङ्घीय सरकार मातहतका मालपोत र नापी कार्यालयहरूमै सुरक्षित छ। सङ्घीय कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरूबीच समन्वयको अभाव हुँदा पालिकाले रोक्का राख्न सिफारिस गरेको जग्गा पनि मालपोतबाट पास हुने जस्ता विचलनहरू देखिने गरेका छन्।

 

सबैभन्दा डरलाग्दो ऐँजेरुको रूपमा भू-माफियाको प्रभाव र राजनीतिक–आर्थिक दबाब देखा परेको छ। जग्गाको वर्गीकरण कृषि क्षेत्रबाट आवासीय वा व्यावसायिक क्षेत्रमा परिणत हुँदा जग्गाको बजार मूल्य रातारात १० औँ गुणासम्म वृद्धि हुन्छ। यसले गर्दा जग्गा व्यवसायी र भू-माफियाहरूले आफ्नो अनुकूलतामा जग्गा वर्गीकरण गराउन पालिकाका जनप्रतिनिधिहरूलाई ठूलो राजनीतिक तथा आर्थिक प्रलोभन वा दबाब दिने गर्दछन्।

 

स्थानीय नागरिकहरू पनि आफ्नै खेतीयोग्य जग्गालाई कृषि क्षेत्रमा राख्दा बैंकले ऋण नदिने वा बिक्री गर्दा कम मूल्य आउने डरले जग्गालाई आवासीय नै कायम गरिदिन पालिकाहरूमा दबाब दिन्छन्। यसका अगाडि धेरैजसो पालिकाहरूले वैज्ञानिक वर्गीकरण गर्न सकेका छैनन्। जग्गा रजिस्ट्रेसन र सेवा शुल्कबापत उठ्ने ठूलो परिमाणको राजस्वको हिस्सा स्थानीय सरकार र प्रदेश सरकारबीच कसरी न्यायोचित रूपमा बाँडफाँड गर्ने भन्ने विषयमा कानुनी र व्यावहारिक अस्पष्टता कायमै छ। साथै, वर्षौँ पुराना कागजी ढड्डाहरू स्थानीय तहमा सार्ने क्रममा वा अनलाइनमा प्रविष्टि गर्दा मिलेमतोमा जग्गाको स्रेस्ता नै फेरबदल वा हिनामिना हुन सक्ने डरलाग्दो अवस्था सिर्जना भएको छ।

 

भावी कार्यदिशा र निष्कर्ष

यो सङ्क्रमणकालीन अवस्थालाई चिर्दै भूमि प्रशासनको स्थानीयकरणलाई अर्थपूर्ण र परिणाममुखी बनाउन आगामी दिनमा बहुआयामिक डिजिटल र संरचनागत सुधारहरू गर्नु आवश्यक छ। पहिलो, सङ्घीय भूमिव्यवस्था मन्त्रालयको भू-सूचना प्रणाली र नापीको NEILS प्रणालीलाई स्थानीय तहको राजस्व सफ्टवेयरसँग पूर्ण रूपमा एकाकार गरिनुपर्छ, जसले गर्दा मानवीय हस्तक्षेप तथा भ्रष्टाचारको सम्भावना शून्य होस्। दीर्घकालीन रूपमा, मालपोत र नापी कार्यालयका शाखाहरूले प्रवाह गर्ने सेवाहरू पूर्ण रूपमा पालिकाहरूमा हस्तान्तरण गरी नागरिकले एकद्वार प्रणालीबाट सबै काम एकै ठाउँमा फत्ते गर्न सक्ने वातावरण बनाउनुपर्छ। यसका लागि प्रत्येक पालिकाले आफ्नो सङ्गठन संरचना परिमार्जन गरी कम्तीमा एक जना नापी अधिकृत र अमिनको स्थायी दरबन्दी सिर्जना गर्नुका साथै कर्मचारीहरूलाई सघन तालिम दिनु आवश्यक छ।

 

पालिकाका जनप्रतिनिधिले पनि अल्पकालीन राजनीतिक नाफा–घाटा भन्दा माथि उठेर वातावरणीय सन्तुलनका लागि भू-उपयोग योजनालाई कडाइका साथ लागू गर्नुपर्छ। खेतीयोग्य भूमिको विनाश रोक्न आवासीय क्षेत्रमा परिणत गर्न दिइने सिफारिसमा पूर्ण रूपमा बन्देज लगाउँदै नदीकिनार, सिमसार र वन क्षेत्रमा बस्ती बसाल्ने कार्यलाई पूर्णतः निषेध गरिनुपर्छ। देशभर जग्गाको सरकारी र बजार मूल्यबीचको खाडल पुर्नका लागि स्वचालित रूपमा मूल्य निर्धारण हुने वैज्ञानिक जग्गा मूल्याङ्कन प्रणाली लागू गरेमा पालिकाहरूको राजस्वमा व्यापक वृद्धि हुनेछ।

 

मुलुकको ३ करोड २७ लाख कित्ता र १ करोड १४ लाखभन्दा बढी जग्गाधनी रहेको वर्तमान विशाल नापी प्रणालीमा अझै पनि करिब १५ लाख परिवार अनौपचारिक वा सुकुम्बासी अवस्थामा रहेको अनुमान छ। त्यसैले सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान कार्यलाई राजनीतिक आग्रह–पूर्वाग्रह भन्दा बाहिर राखेर पूर्ण रूपमा पारदर्शी र न्यायिक बनाउनुपर्छ। साथै, पालिकाभित्रका सार्वजनिक जग्गाहरूको संरक्षणका लागि ग्लोबल पोजिसनिङ सिस्टमको प्रयोग गरी डिजिटल फेन्सिङ गरिनु आवश्यक छ, ताकि अतिक्रमण रोक्न सकियोस्। सङ्घीय सरकारले नीति र प्रविधिमा सहयोग गर्ने तथा स्थानीय सरकारहरूले दृढ इच्छाशक्तिका साथ कार्यकारी भूमिका निर्वाह गरेमा मात्र नेपालमा भूमि प्रशासनको स्थानीयकरणले सङ्घीयताको वास्तविक मर्मलाई चरितार्थ गर्न सक्नेछ।

 

 

यादव घिमिरे
पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका
हाल: कलङ्की १४, काठमाडौँ

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x