छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद ज्ञवाली र देवी नेपालको ‘छन्द–तरङ्ग’ निर्मोही व्यास र सिर्जना अर्याललाई छन्दसाधना पुरस्कार

319
shares
Nabil bank

काठमाडौँ । नेपाली छन्दकविताको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा छन्दसाधनाप्रति आकर्षण बढाउने उद्देश्यले सञ्चालित ‘छन्द–तरङ्ग’ले यस वर्ष वरिष्ठ कवि निर्मोही व्यास र युवा कवि सिर्जना अर्याललाई पुरस्कृत गरेको छ।छन्दसाधना पुरस्कारअन्तर्गत व्यासलाई विशिष्ट छन्दसाधना पुरस्कार र अर्याललाई छन्दसाधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो। काठमाडौंमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि प्राध्यापक तथा समालोचक प्रा. डा. महादेव अवस्थीले दुवै स्रष्टालाई पुरस्कार प्रदान गरे।

प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपालको संयोजनमा २०७५ सालदेखि सञ्चालित छन्द–तरङ्गले २०७६ सालदेखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएको छ। छन्दसाधनामा सक्रिय वरिष्ठ स्रष्टालाई सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानले २०७९ सालदेखि युवा प्रतिभा पुरस्कारसमेत थपेर प्रौढ र नयाँ पुस्ताका कविलाई एउटै मञ्चमा जोड्दै आएको छ। अर्थ र समयले साथ दिएमा आगामी दिनमा छन्दमा रमेका वालपुस्तालाई पनि सहभागि गराउने योजना रहेको देवी नेपालले बताए ।

कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्राडा देवी नेपालले ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा छन्द–तरङ्गको अभियान सुरु गरिएको जानकारी दिए। उनका अनुसार २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरिएको थियो। निरन्तर १९ शृङ्खलासम्म सञ्चालन भएको उक्त कार्यक्रम कोभिड–१९ का कारण स्थगित भए पनि छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिइएको छ।

नेपालले देश तथा विदेशमा रहेका छन्दप्रेमी र साहित्यिक व्यक्तित्वहरूको सहयोगमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको बताए। उक्त कोषमा नेपालबाट डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), सीता भट्टराई, नेत्रकला ज्ञवाली, रमेश खकुरेल, मिना ज्ञवाली, नारायण मरासिनी, प्राडा हेमनाथ पौडेल र निबन्ध आचार्यलगायतले योगदान गरेका छन्।
त्यस्तै अमेरिकाबाट भोला शिवाकोटी, प्रा. मोहन सिटौला, खेम रिजाल, हरि काफ्ले ‘शैव’, प्रभा पोखरेल र सुदीपभद्र खनाल, इजरायलबाट निशा अर्याल तथा नर्वेबाट रमेश गौतमलगायतले आर्थिक सहयोग गरेका छन्।

अक्षयकोषबाट प्राप्त ब्याजमार्फत हरेक वर्ष एक जना विशिष्ट छन्दसाधकलाई ४० हजार रुपैयाँ नगदसहितको विशिष्ट छन्दसाधना पुरस्कार र एक जना युवा छन्दसाधकलाई २० हजार रुपैयाँ नगदसहितको छन्दसाधना युवा प्रतिभा पुरस्कार प्रदान गरिँदै आएको छ।छन्द–तरङ्गले पुरस्कार वितरणलाई मौलिक सांस्कृतिक परम्परासँग पनि जोड्दै आएको छ। पुरस्कृत स्रष्टालाई दोसल्ला र ढाकाटोपी पहिर्याएर नेपाली थैलीमा नगद अर्पण गर्ने गरिएको छ। त्यस्तै, सम्मानपत्रसमेत कवितात्मक शैलीमा तयार पारेर वाचन गर्ने परम्परा रहेको छ।

कार्यक्रमको अध्यक्षता गरेका प्राडा रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग छन्दकविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभई साहित्यिक सिर्जनामा अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोध विकास गर्ने सार्थक प्रयास भएको बताए।कवि दिनेश पाण्डेको छन्द–तरङ्ग गायन र युवा स्रष्टा सरोज घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा दुई सयभन्दा बढी विशिष्ट साहित्यकारहरूको उपस्थिति थियो।

२०७६ सालदेखि प्रदान गर्न थालिएको विशिष्ट छन्दसाधना पुरस्कारबाट यसअघि रमेश खकुरेल (२०७६), चन्द्रप्रसाद न्यौपाने (२०७७), प्रा. घनश्याम कँडेल (२०७८), रामचन्द्र भट्टराई (२०७९), भुवनहरि सिग्देल (२०८०), गोविन्दराज विनोदी (२०८१) र नवराज लम्साल (२०८२) पुरस्कृत भइसकेका छन्।

त्यस्तै, २०७९ सालदेखि प्रदान गर्न थालिएको छन्दसाधना युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल र रूपक अलङ्कार सम्मानित भइसकेका छन्।
वरिष्ठ स्रष्टाको अनुभव र युवापुस्ताको सिर्जनात्मक ऊर्जालाई एउटै अभियानमा जोड्दै आएको छन्द–तरङ्गले नेपाली साहित्यमा छन्दकविताको निरन्तरता, पुस्तान्तरण र साधनाको संस्कृतिलाई संस्थागत गर्ने प्रयास गरिरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x