कविता : समय
वि.सं.२०८३ कात्तिक २९ आइतवार
shares
के हो, कसले बनायो ?
न कहिल्यै रोकिन्छ,
न कसैसङ्ग ठोकिन्छ
न गति घटबढ हुन्छ,
नत कसैले समात्न सक्छ
अचम्म छ ।
देशमा प्रलय आउँदा पनि ऊ मौन भएर चुपचाप हिडिरहन्छ,
आफ्नै गतिमा
जति रोऊ कराऊ
उसलाई केही फरक पर्दैन ।
कसैको पुर्पुरोमा हात छ, कसैको उठिवास छ,
कसैको नत घरवास छ
चातैतिर विजोक, सन्नाटा छ तर पनि ऊ भागिरहन्छ
आफ्नै गतिमा
अनि एक पछि अर्को वितण्डा मच्चाउन पछि पर्दैन
बनाउने पनि उहीँ, बिगार्ने पनि उहीँ
सिङ्गारने पनि उहीँ, लछार्ने पनि उहीँ,
परिवार मिलाउने
अनि छुटाउने पनि उहीँ
उसको आफ्नै ताल छ,
सबतिर भ्याएको छ
माहिर छ,नचाउँन अनि खेलाउँन,
खेलौना सम्झन्छ ऊ ।
कसैले भन्दै थियो, “यो समयको खेल हो।”
म हल्का मुस्कुराएँ अनि जवाफ फर्काएँ , “यदि समय सबथोक हो भने मिहिनेत कसका लागि अनि किन गर्नुपर्यो ?”
उसले सबैलाई कलाकार बनाएछ ।
उसैको हर इशारामा नाच्ने,
जानोस् नजानोस् केही भएन तर कला बेजोडको दिनुपर्यो ।
नत्र दुनियाँले गन्दैन ।
समयले पनि व्यापार गर्न थालेछ,
नाफा घाटाको हिसाब दुरुस्त राखेछ,
रत संसारलाई नतमस्तक बनाएछ ।
कसैलाई पदका पछि दौडाएछ,
कसैलाई कुर्सीका पछि,
कसैलाई चाकरी गर्न सिकाएछ,
कसैलाई समाजसेवाको घुम्टो ओडाएछ त कसैलाई चाप्लुसी गरेबापत पुरस्कृत पनि बनाएछ,
अनि उसैलाई सिंहासन पुर्याएछ,
चोरले पनि इमानको पाठ पढाएछ, कस्तो जादुगर रहेछ ।
गधालाई घोडा बनाएछ त कहीँ त्यहीँ घोडालाई खच्चर बनाउन भ्याएछ,
उहीँ व्यवहारिक भएछ ।
जसले झूठ बोल्न सक्यो त्यो कुटनीतिज्ञ भएछ,
उसैको जयजयकार ! अनि जो सत्यको धरातलमा उभियो
उहीँ आज एक्लो भएछ ।
वाह रे समय !
कस्तो अचम्म ?
बोलीमा नैतिकताको घुम्टो ओढेछ, व्यवहारमा आदर्शको चस्मा छ,
तर मनमा छलकपटको दुर्गन्ध
सायद ! समयलाई यहीँ मन नपरेको पनि हुँनसक्छ ।
रत पटक पटक प्रतिशोध लिईरहेछ । कहिले बाढी, पहिरो बनेर सखाब पार्छ, त कहिले सुनामी बनेर वितण्डा मच्चाउँछ,
कहिले जलप्रलय मच्चाउँछ, विध्वंस पार्छ,
त कहिले भुकम्प बनेर तर्साउँछ,
तहसनहस पार्छ ।
प्राकृतिक प्रकोप निम्त्याएर सचेत गराएको छ,
पटक-पटक ।
तर त्यो सङ्केत हामीले बुझेनौँ ।
बहिरा भयौँ, बेवास्ता गर्यौ,
अब यदि अन्यायको अन्त्य, अधर्म, दमन अनि ज्यादतीको अन्त्य भएन भने प्रकृतिले अझै रौद्र रूप देखाउँने छ ।
असत्यमाथि सत्यको जित हुनेछ, सदा सदाका लागि,
फेरिनेछ युग
सत्यले अवश्य बाटो रोज्नेछ,
पहिल्याउँने छ गन्तव्य, अनि बग्नेछ,”शान्तिको लहर केवल शान्तिको लहर !”
अनि सिङ्गारिनेछ देश
बग्नेछ विकासका लहर चारैतिर,
विदेशको झिलिमिली खोज्न जानु पर्दैन
चिनिनेछ शान्तिको देश अनि
बुद्धको देश भनेर
रमाउँनेछिन् प्रकृति, खुलेर हाँस्नेछिन्
नयाँ वसन्त आउँनेछ,
खोलानाला, झरना अनि छहराले गाउँनेछन् गीत,
सुसेल्नेछन् आवाज
चराचुरुङ्गीको चिरबिर- चिरबिर मधुर आवाज गुन्जिनेछ,
सूर्यको सुनौलो लाली उदाउँनेछ,
त्यहीं समयमा तर फरक सुगन्ध लिएर
कञ्चन भएर आउँनेछ,
स्वर्णिम बिहानीको उदय हुनेछ,
मेरो देशमा अनि बग्नेछ,
“परिवर्तनको धार केवल परिवर्तनको धार !”
































