सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिन्छौँः उपाध्यक्ष श्रेष्ठ
वि.सं.२०८० साउन १६ मंगलवार
shares
काठमाडौं।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सोह्रौँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिनेगरी बनाउने बताउनुभएको छ ।
सोमवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको हो । त्यसको लागि यस आर्थिक वर्षको बजेटबाट नै तयारी थालिएको बताउनु भयो । उहाँले यो आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीका विशेष कार्यक्रम घोषणा भएको उल्लेख गर्दै एउटा पालिकामा दुई वटाका दरले कार्यक्रम अगाडी बढाउने बताउनु भयो । आगामी वर्षहरुमा देशैभरी कृषि, पशुपंक्षी पालन, जडिबुटी, साना घरेलु, लघु र मझौला उद्योगहरुका कार्यक्रमहरुमा जोड दिइने बताउनु भयो । त्यस्तै होटल, एग्रो, रिसोर्टहरु र सूचना प्रविधिमा आधारित सम्पूर्ण उद्योगहरुलाई नेटवर्किङ गरेर ठूल्ठूला कार्यक्रमहरु खोल्ने कार्यक्रमहरु राखिने उहाँले बताउनु भयो । उहाँले सामुहिकतालाई जोड दिनेगरी अगाडी बढ्नुपर्ने पनि बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले कृषिको उत्थान भयो भने उद्योगको पनि उत्थान हुने र अर्थतन्त्रमा विकास हुने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘देशलाई अगाडी बढाउन सक्ने योजना दिनका लागि कृषिको अहिलेको हालत जे छ, त्यसलाई हामीले ड्राइभ नदिइकन हामी अन्त केही गर्न सक्दैनौँ । अर्थतन्त्रलाई कृषि, उद्योग, सेवा क्षेत्र भनेर तिन भागमा बाडिन्छ । हाम्रो मुलुकमा कृषिको विकास नभएसम्म उद्योगको विकास हुँदैन । किनभने उद्योगधन्दाहरुको कच्चा पदार्थ दुईवटा स्रोतबाट आउँछन् । एउटा जमिनमाथि, एउटा जमिनमुनि । जमिन मुनिको खनिज पदार्थहरु फलाम, पित्तल, तामा तिनीहरु हामीले अहिले प्रयोग गर्न सक्दैनौँ । जमिनमाथिको जस्तोकी जंगल, कृषि, पानी लगायतका यि सबै कुराहरु । कृषिको उत्थान भयो भने बल्ल कृषिमा आधारित कच्चा पदार्थ प्रयोग गर्नेगरी उद्योगहरु फस्टाउने हुन् । हामीमा जे जति उद्योगहरु बनेका छन् नि, त्यो दिगो किसिमका छैनन् । सबै कच्चा पद्धार्थ बाहिरबाट आउँछन् । भ्यालु एडिसन कम हुन्छ । त्यसकारण कृषिलाई ड्राइभ गर्ने, फोकस गर्ने किसिमबाट हामीले सोचेका छौँ सोह्रौ योजनामा । त्यसको पाइलटिङ यो आर्थिक वर्षकै बजेटमा एउटा उत्पादन र रोजगारीका लागि विशेष कार्यक्रम भन्ने घोषणा भएको छ । त्यसलाई बजेट पनि हालिएको छ । त्यसमा कृषिलाई साच्चै नै फड्को मार्नेगरी एउटा पालिकामा दुई वटाका दरले कार्यक्रम अगाडी बढाउने र त्यसको कमजोरीहरु हटाएर त्यो पाइलटीङ हो । त्यसपछि आगामी वर्षहरुमा देशैभर कृषि, पशुपंक्षी पालन, जडिबुटी, साना, घरेलु, लघु, मझौला उद्योगहरु, अर्को होटल, एग्रो, रिसोर्टहरु र अर्को सूचना प्रविधिमा आधारित सम्पूर्ण उद्योगहरुलाई नेटवर्किङ गरेर ठूल्ठूला कार्यक्रमहरु खोल्ने कार्यक्रमहरु आइराखेको छ । यसमा महत्वपूर्ण के छ भने सामुहिकतालाई जोड दिने ।’
उहाँले विकास निर्माणका काम गर्न नीतिगत रुपमा पनि समस्याहरु आउने भन्दै त्यसको समाधान गर्नुपर्ने अवस्था आएको बताउनु भयो । यसका लागि विकास विधेयक तर्जुमा भइराखेको उहाँले बताउनु भयो । उहाँले राष्ट्रिय योजना आयोगले विकास आयोजनाहरुको अनुगमन गरेर दिएको प्रतिवेदन समेत कार्यान्वयन नहुने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अहिले चाहीँ कुनै एउटा आयोजना बनाउनुप¥यो भने वनको समस्या छ । त्यस्तै गिटी, ढुंगा, बालुवा पाइँदैन । स्थानीयले पहिला विकास निर्माणका कार्यक्रम हाम्रै क्षेत्रमा ल्याउनुपर्छ भनेर लबिङ गर्छन् । आउने भयो, घरजग्गाको मूल्य बढ्ने भो भनेपछि त्यहाँ दिँदैनन् । यो सबै समस्या समाधान गर्नको लागि, विकास ऐन तर्जुमा गर्नका लागि विधेयक तर्जुमा भइराखेको छ, र यो प्रश्तुत हुने क्रममा छ । अर्को राष्ट्रिय योजना आयोगको काम के हो भने योजना बनाउने, कार्यक्रमहरु तय गरिदिने, नीति बनाइदिने । लागू गर्ने त मन्त्रालयले । अनि योजना आयोगले चाहीँ अनुगमन गरेर सहजीकरण गर्ने, समन्वय गर्ने हो । हामी आयोजना अनुगमन गर्न जान्छौँ । यसमा यो–यो गर्नुपर्ने देखियो । अर्थले बजेट दिनुपर्ने देखियो । वनले यो गर्नुपर्ने देखियो । ढुंगा, गिट्टी, बालुवा समस्या यो गर्नुप¥यो भनेर रिपोर्ट दिन्छौँ । कार्यान्वयन हुँदैन । किनभने त्यसमा कानूनी हैसियत प्राप्त भएन । अब यो समस्यालाई समाधान गर्नका लागि अनुगमन तथा मूल्यांकन ऐन भन्ने राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा गएको छ । यो आयो । आयोजना बैंक, आयोजना बर्गिकरण लगायतका जे कामहरु हामीले गरेका छौँ त्यो विधिगत रुपमा । त्यो भयो भने धेरै कामहरु अगाडी बढ्छन् ।’
उहाँले राष्ट्रिय योजना आयोगले आयोजना वर्गिकरण र आयोजना बैंकको कार्यविधि ड्राफ्ट गरेर मन्त्रिपरिषद्मा पठाएको र मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको बताउनु भयो । सो कार्यविधि पारित भएमा स्थानीय तह, प्रदेश र संघले विकास निर्माणको कुन–कुन काम गर्ने भन्नेमा प्रष्ट हुने बताउनु भयो ।































