पराजुली र काफ्लेलाई विभागीय छात्रवृत्ति

Ghorahi cement

पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा सञ्चालित छात्रवृत्ति तारानाथ पराजुली र विष्णुप्रसाद काफ्लेले पाएका छन् । स्नातकोत्तर तहका छात्रछात्रालाई प्रोत्साहनका लागि विभागको पहलमा स्थापित छात्रवृत्ति बुधवार पोखरामा आयोजित एक समारोहबीच प्रदान गरिएको हो ।

 

शालिग्राम–कृष्ण पौडेल छात्रवृत्ति पर्वतको बिहादी–२ का पराजुलीले प्राप्त गरे भने सीता–तीर्थ अधिकारी छात्रवृत्ति तनहुँको शुक्लागण्डकी–१० तनहुँका विष्णुप्रसाद काफ्लेले प्राप्त गरेका हुन् ।

 

छात्रवृत्ति प्राप्त गर्न सफल छात्रद्वयलाई सहायक क्याम्पस प्रमुख मीनराज लम्साल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सना, पूर्व विभागीय प्रमुख प्राडा. कुसुमाकर न्यौपाने, छात्रवृत्ति कोषका संस्थापक कृष्णप्रसाद पौडेल र पत्रकार असफल गौतम लगायतले संयुक्तरुपमा हस्तान्तरण गरे ।

 

सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले विभागले सञ्चालन गर्ने यस्ता छात्रवृत्तिले सिंगो क्याम्पसलाई मजबुत बनाउन सहयोग गर्ने बताए । छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी र स्थापना गर्ने संस्थापकलाई आभार व्यक्त गर्दै उनले अध्ययनका लागि संकाय र विषयलाई लिएर हुने कुरा भन्दा विद्यार्थीको क्षमताले अध्ययनको क्षेत्र निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

 

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै त्रिवि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाई सभापति डा. लक्ष्मीशरण अधिकारीले त्रिविले पछिल्लो अन्य विषयमा स्नातक पूरा गरेका विद्यार्थीलाई पनि स्नातकोत्तरमा भर्ना सञ्चालन गर्नु सराहनीय रहेको बताए ।

 

शालिग्राम–कृष्णपौडेल छात्रवृत्तिका संस्थापक कृष्णप्रसाद पौडेलले आफ्नो जीवनलाई सार्थक तुल्याउन बुबाको योगदानको स्मरणका लागि र पहिला विभागीय प्रमुख भएर सेवा गरेको ठाउँमा केही गरौं भनेर छात्रवृत्ति स्थापना गरेको बताए ।

 

सीता–तीर्थ अधिकारी छात्रवृत्तिका बारेमा प्रकाश पार्दै असफल गौतमले मुक्तकमणि तीर्थराज अधिकारी नेपाल सरकारको उपसचिवबाट सेवानिवृत्तिपछि राज्यबाट प्राप्त निवृत्तिभरणको रकम नेपाली वाङ्मयको श्रीवृद्धि र शिक्षा क्षेत्रमा लगाउँदाको एउटा निरन्तरता सीता–तीर्थ छात्रवृत्ति रहेको बताए ।

 

नेपाली विभागका विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाले विभागलाई अगाडि बढाउन साथ र सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै निरन्तरता दिन आग्रह गरे ।

 

विभागीय सदस्य डा. पुण्यप्रसाद शर्माले विभागद्वारा सञ्चालित छात्रवृत्तिले नेपाली विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन र हौसला मिल्ने बताए ।

 

विद्यार्थी तारानाथ पराजुलीले संस्कृत पृष्ठभूमिबाट आएर नेपाली विषय पढेपछि साच्चै राम्रो विषय अध्ययन गरेको रहेछु भन्ने अनुभूति भएको बताए । अर्का विद्यार्थी विष्णुप्रसाद काफ्ले आफूले पढेको क्याम्पसमा पुरस्कृत हुन पाउँदा गौरव लागेको बताए ।

Shangri-la Development Bank Ltd.
Nepali patro