अर्थमन्त्रीले च्यापेपछि निलम “म्याडम”को चुरीफुरी

वि.सं.२०८२ वैशाख ७ आइतवार
shares

काठमाडौं। नयाँ गभर्नर नियुक्तिको तयारी भइरहेका बेला कार्यवाहक गभर्नर निलम ढुंगानाको चुरीफुरी बढेको छ । उनलाई अर्थमन्त्री बिष्णु पौडेलले धाप मारिरहेका छन् । सोही आडमा उनले आफूलाई नै राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरेकी छिन्। त्यसो त प्रधानमन्त्रीसमेत गभर्नर नियुक्तिको बिषय गिजोलिरहेका छन् । परराष्ट्र मन्त्री आरजू राणा बर्तमान सरकारको पक्षमा ढाल बनेर उभिएपछि
सोही कमजोरी टेकेर प्रधानमन्त्री आफू अनुकुल व्यक्ति गभर्नर बनाउने योजनामा लागेका हुन ।
राष्ट्र बैंक ऐनले स्पष्ट रूपमा गभर्नर नै सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था गरेको छ। तर, ढुंगानाले कार्यवाहक गभर्नरको हैसियतमा उक्त अधिकार प्रयोग गर्दै कार्यपद्धति र संस्थागत मर्यादालाई उल्लंघन गरेकी हुन्।
ढुंगानाले बैंकको एकजना डेपुटी गभर्नरको पद खाली गर्दै संरचनात्मक फेरबदल समेत गरेकी छन्। राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित सञ्चालक समितिको नयाँ नामावलीमा उनले आफूलाई अध्यक्षको रूपमा उल्लेख गरेपछि बैंकभित्र चर्को विवाद उत्पन्न भएको छ।
राष्ट्र बैंकका अधिकारीहरू नै यस कदमप्रति आश्चर्यचकित छन्। एक कार्यवाहक गभर्नरले कसरी यस्तो ‘आत्मघोषित सत्तारोहण’ गर्न सक्छ भन्ने प्रश्न उठेको छ।
ढुंगानाको यो हर्कत गभर्नर बन्ने लालसामा गरिएको हडबडाहट मात्र नभई सत्ता प्राप्तिका लागि कानुनी र नैतिक सीमाहरूलाई लत्याउने प्रवृत्तिको प्रतिविम्ब भएको अर्थ विश्लेषकहरू बताउँछन्।
यसअघि पनि कार्यकारी निर्देशकको बढुवा, निर्माण व्यवसायीलाई दिइएको कर्जा पुनर्तालिकीकरण लगायतका निर्णयका कारण ढुंगाना आलोचित हुँदै आएकी छन्। तर यसपटक उनले संस्थागत मर्यादा र कानुनी सीमाहरू नै अतिक्रमण गरेकी आरोप लागेको छ।
सरकारभित्र गभर्नर नियुक्तिको विषयमा छलफल जारी रहेका बेला, अर्थमन्त्री विष्णु पौडेल गुणाकर भट्टलाई गभर्नर नबनाउने लाइनमा रहेको स्रोतले जनाएको छ।
अब सरकार ढुंगानाको यो कदमलाई कसरी लिन्छ र गभर्नर नियुक्तिमा के निर्णय लिन्छ भन्ने विषयमा आम चासो बढेको छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
कार्यवाहक गभर्नर नीलम ढुंगानाको प्रतिशोध र बार्गेनिङले नयाँ गर्भनरमा अड्कियो हलो