फेरि सुरु भयो विमानस्थल अध्यागमन कर्मचारीको सहयोगमा फर्जी कागजातको प्रयोग
विमानस्थल अध्यागमनमा यसरी हुने रहेछ सेटिङ्ग
वि.सं.२०८२ जेठ ४ आइतवार
shares
काठमाडौँ । केही वर्ष पहिले विमानस्थल अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्का दुई लाख रुपैयाँ घुससहित समातिए । उनीसँगै अन्य धेरै कर्मचारीको मिलेमतो देखिएको थियो । अध्यागमनमात्र होईन फर्जी कागजातका आधारमा बिदेश पठाउन सहयोग गर्ने विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरियो । योसँगै केही समय उक्त काम रोकियो । अहिले पुनः काम सुरु भएको छ ।
फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाउने धन्दामा नेपाल वायुसेवा निगमका कर्मचारीदेखि अध्यागमन कार्यालयका कर्मचारी पनि संलग्न छन् । केही बर्ष पहिले यो धन्दामा संलग्न रहेको पाइएपछि प्रहरीले निगमका अधिकृत होमनाथ पोखरेल र सुब्बा अरवीन्द्र यादवलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार पोखरेलले रोलेक्स ट्राभलका कर्मचारी सञ्जय तामाङ र राजकिशोर साहबाट १८ लाख रुपैयाँ घुस बुझेका थिए । उक्त रकम रोलेक्सका सञ्चालक देवराज खनालले उपलब्ध गराएका थिए । निगमका सुब्बा यादवले अन्ट्राट्रिप ट्राभलका सञ्चालक मनुराज चौधरीबाट १२ लाख रुपैयाँ घुस बुझेका थिए । फर्जी कागजात बनाएर नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने धन्दामा अध्यागमन र वायुसेवा निगमका कर्मचारीले काम सुरु गरेका छन् । तर, प्रहरीले वेवास्ता गरिरहेको छ ।
जानकारहरुका अनुसार यसरी कर्मचारीले संकलन गरेको रकम माथिल्लो निकायसम्म पुग्ने गरेको छ । त्यसका लागि विमानस्थल कार्यालय र त्यहाँको अध्यागमन कार्यालय जान निक्कै रस्साकस्सी हुन्छ । अहिले अध्यागमन विभागका निर्देशक गोविन्द रिजाल र विमानस्थल कार्यालयका प्रमुख तीर्थ भट्टराईले रकम संकलनको नेतृत्व गरिरहेको एक बिचौलियाले बताए । बिगतमा आफूसँग काम गरेका र अहिले अर्कै कम्पनीमार्फत रकम असुल्न थालेपछि उनी आक्रोशित बनेका हुन् । त्यतिमात्र होईन विमानस्थलको अध्यागमन कार्यालयमा हुने अवैध कामको अतिरिक्त रकम गृहमन्त्रालयको उच्चपदस्थसम्म पुग्ने गरेको एकपूर्व कर्मचारीले बताए ।
ती भुक्तभोगीकाअनुसार विमानस्थलमा कर्मचारीको मिलेमतोमा कोड भाषा प्रयोग हुन्छ । अवैध मानिसलाई बिदेश पठाउने फर्जी कागजातको लागि कोड भाषा नै निर्माण गरिएको छ ।
सूचनाअनुसार दैनिक ३ सय देखि ४ सय मानिससम्म यसरी फर्जी कागजातका मानिसहरु देश बाहिर जाने गरेका छन् । उनीहरु पर्यटक भिषामा विमानस्थलबाट बाहिरिन्छन् । यसको संयोजन भने ट्राभल एजेन्सीले गर्ने गरेको छ ।
पर्यटक भिषामा बाहिर गएकाहरु उतै लुकेर बस्नका लागि फर्जी कागजात अध्यागमन कार्यालय विमानस्थलका कर्मचारीले बनाउने गरेका छन् ।
यसरी फर्जी कागज बनाएको खाडी राष्ट्रको लागि पुरुषबाट ४० हजार रुपैयाँ र महिलाबाट २० हजार रुपैयाँ लिने गरिन्छ ।
युरोपका मुलुक जानका लागि पुरुष अथवा महिलालाई ५०–५० हजार रुपैयाँ असुल गरिन्छ । चिली, ब्राजिल जस्ता देशहरूका लागि प्रति व्यक्ति १ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । अमेरिका जस्ता ठूला देशका लागि जतिपनि रुपैयाँ तिर्न तयार हुने मानिस भेटिएका छन् ।
यसरी दैनिक ३ सयदेखि ४ सय जना मानिस फर्जी कागजबाट बिदेश जाँदा पचास हजारकै दरमा पनि दैनिक लाखौं रुपैयाँ संकलन हुने गरेको छ ।
यो बिषय प्रतिनिधिसभामा पनि उठाईएको थियो । रास्वपा सांसदले यो बिषय उठान गरेका कारण अन्य सत्तारुढ दलका सांसदले उल्टो खिसीट्युरी गरेका थिए ।
ट्राभल एजेन्सीको लाईनमा अध्यागमन कर्मचारीको मिलेमतोमा करोडौं अवैध रकम संकलन हुने भएपनि यस बिषयमा प्रहरी प्रशासन र अख्तियारवाला निकाय आँखामा पट्टी बाँधेर बसेको छ । सत्तारुढ दलकै कर्मचारीका युनियनको दादागिरीमा यहाँ कर्मचारीहरु पठाउने कारण पनि तै चुप मै चुपको अवस्था रहेको छ ।
अझ रोचक प्रसंग त विमानस्थलमा यसरी अवैध रुपमा संकलन गरिएको रकम बाढ्ने समिति नै खडा गरिएको छ । अहिलेसम्म कुनै पनि निकायले त्यो घुस बाँड्ने समितिलाई न कारबाही गर्न सकेको छ नत अनुसन्धान नै गर्न सकेको छ । किनकि उक्त अवैध रकम कारबाही गर्ने निकायहरुसम्म पुग्ने गरेको छ ।
त्यो घुस अथवा अवैध रकम बाढ्ने समितिमा बस्न पनि हानाथाप हुने गरेको छ । त्यसोत विमानस्थलको प्रमुख र अध्यगमन कार्यायको प्रमुख बन्न पनि निक्कै लागनी गर्नु पर्ने कारण पनि अवैध रकम संकलनमा कर्मचारी परिचालन गरिन्छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
दरबन्दी भन्दा धेरै कर्मचारी पठाएर त्रिभुवन विमानस्थलमा ब्रह्मलुट































