समस्याको गर्भमै सम्भावना समेत पलाएको हुन्छ
वि.सं.२०८२ असार ४ बुधवार
shares
जिन्दगी आफैँमा चुनौतीहरूको भेल हो। यहाँ हरेक पाइलामा संघर्ष, असफलता, असहजता र अप्ठ्यारा परिस्थिति भेटिन्छन्। तर ती चुनौतीहरूलाई मात्र समस्या सम्झेर थकित हुनु जीवनको सार होइन। वास्तवमा, हरेक चुनौतीभित्र एउटा अवसर लुकेकै हुन्छ । अवसर सिकाइको, अवसर सुधारको, अवसर आत्मपरीक्षण र आत्मविकासको। कठिनाइहरूले मानिसलाई सोच बदल्न, दृष्टिकोण फराकिलो पार्न र नवीन मार्ग पहिल्याउन प्रेरित गर्छन्। सफल मानिसहरूको जीवन नियाल्दा देखिन्छ उनीहरू असफलता र चुनौतीलाई अवसरको रूपमा लिएर अघि बढेका हुन्छन्। त्यसैले, जीवनका हरेक उतारचढावलाई सामना गर्ने सकारात्मक दृष्टिकोण राख्न सके, चुनौतीहरू बाधा होइन, सफलताको सिँढी बन्नेछन्। जीवनको यथार्थ यही हो समस्याको गर्भमै सम्भावना पलाउँछ।
मलाई सधैं सकारात्मक प्रवृत्तिका गीत र लेख लेख्न मन लाग्छ, किनभने यस्ता सिर्जनाहरूले नकारात्मक सोचमा अल्झिएका मनहरूलाई आशाको उज्यालो देखाउन सक्छन्। समाजमा निराशा, निरुत्साह र असफलताको घेरो बढ्दै गएको वर्तमान परिवेशमा सकारात्मक लेखनले मानिसको मानसिक स्वास्थ्य, आत्मबल र जीवनप्रतिको दृष्टिकोणमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ। जब म सकारात्मक सन्देश बोकेको गीत लेख्छु, तब त्यो गीत अरूको मनमा उर्जा जगाउने प्रेरक माध्यम बन्न सक्नु पर्दछ भन्ने लाग्दछ। सकारात्मक लेखन केवल मनोरञ्जन होइन, त्यो एक प्रकारको उपचार हो शब्द मार्फत आत्मा छुने प्रयास, शब्द मार्फत मल्हम लगाउने प्रयास, शब्द मार्फत प्रेरणा दिने प्रयास। मलाई लाग्छ, हरेक शब्दमा सकारात्मक ऊर्जा भरिँदा त्यो केवल पठन सामग्री होइन, जीवन जिउने हौसला पनि बन्दछ। त्यसैले, मेरो कलम सधैं आशा, प्रेरणा, सद्भाव र उज्यालोतर्फ मोडिउन भन्ने चाहना राख्दछु।
मैले लेखेको एक अलिकति हांस्नु तिमी अलिकति म हांसुला मा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ यसमा मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन् धेरै धेरै वाक्यांश प्रयोग भएको छ । गीतको यस अंशले एउटा प्रतीकात्मक सन्देश बोकेको छ। यो पंक्तिले हामीलाई जीवनको संघर्ष, सहनशीलता र महानता प्राप्तिका लागि लाग्ने पीडा र परीक्षाको सन्देश दिन्छ। मूर्ति सुन्दर देखिन्छ, सम्मानित हुन्छ, पूजा गरिन्छ तर त्यो मूर्तिमा परिणत हुन त्यो ढुंगाले अनेकौं चोटहरू, छिनाका कैयन प्रहारहरू सहनु परेको हुन्छ। समाजमा केही विशेष बन्न, उदाहरणीय बन्न, केही गर्न वा मार्गदर्शक बन्ने चाहना राख्ने व्यक्तिलाई पनि समयले चोट दिन्छ, परिस्थितिले परीक्षा लिन्छ र आलोचनाले चुनौती दिन्छ। तर ती सबै चोटहरू सहँदै अगाडि बढ्नेहरू नै अन्ततः सम्मानित हुन्छन्, मूर्ति जस्तै पूजनीय बन्छन्। यो भावले संघर्षको सौन्दर्य र सहनशीलताको महत्त्वलाई उजागर गर्छ। चोट सहेर पनि मुस्कुराउने, एकाध असफलताहरुवाट नडराउने र आफ्नो मूल्यमा अडिग रहने साहसी व्यक्तित्वहरू नै समाजका प्रेरणाका स्रोत हुन्। त्यसैले यस गीतको यो अंशले सफलताका लागि आवश्यक त्याग र धैर्य हुनु पर्ने पक्षमा जोड दिएको छु ।
अर्को गीत जिन्दगीको पाठशाला जसको पहिलो अंश “जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हसायो कहिले रुवायो, जीवनका पहलु सवै सिकायो” रहेको छ यसले जीवनलाई एक महान शिक्षकको रूपमा चित्रण गर्ने प्रयास गरेको छु । जिन्दगी कुनै शैक्षिक संस्थाभन्दा कम छैन, जसले विभिन्न अनुभवहरूमार्फत मानिसलाई बाँच्न सिकाउँछ। कहिले खुसी दिई हसाउँछ भने कहिले पीडाभोग गराएर रुवाउँछ । तर दुबै अवस्थाले हीलाई गहिरो पाठ पढाउँछन्। खुशीले कृतज्ञता र आनन्दको महत्त्व सिकाउँछ भने दुःखले सहनशीलता, धैर्य र जीवनप्रतिको गहिरो दृष्टिकोण दिन्छ। यस गीतले जिन्दगीका विविध रंगहरु प्रेम, पीडा, संघर्ष, सफलता र असफलता सबैलाई शिक्षाका रूपमा ग्रहण गर्न प्रेरणा दिन्छ। यस अर्थमा, जीवन एउटा चलिरहेको पाठशाला हो, जहाँ प्रत्येक क्षण नयाँ पाठ सिकाउने मौका हो। यो अंशले श्रोतालाई जीवनका हरेक अनुभवलाई स्वीकार गर्न, त्यसबाट केही सिक्न र अगाडि बढ्न प्रेरित गर्दछ।
गीतको अर्को अंश “बाधा विघ्न आउंछन धेरै नमानी रत्ति, दुखमा आंशु पुछि सुखमा नमात्ति, व्यथाहरू लुकाइ हास्न सिकायो, भत्केका ती आशालाई जोड्न सिकायो” ले जीवनमा धैर्य, आत्मसंयम र सकारात्मक सोचको गहिरो सन्देश दिने प्रयास गरिएको छ। यसमा भनिएको छ कि जीवनका यात्रामा अनेक बाधा विघ्नहरू अवश्य आउनेछन्, तर तिनिहरुवाट नहच्किनु भन्ने पाठ सिकाउँछ। दुःखका आँसु पुछेर अघि बढ्ने र सुखमा अत्यधिक मातिएरर सन्तुलन नगुमाउन सिकाउँछ। मानिसले मनभित्रका पीडाहरु लुकाएर मुस्कान देखाउन सक्नु पर्दछ किनकी यही जीवनको यथार्थ पनि हो। यो अंशले भावनात्मक परिपक्वता र कठिनाइका बीच पनि आशालाई पुनः जोड्ने सामर्थ्यको चित्रण गर्छ। जिन्दगी केवल त्यत्तिकै बित्ने होइन, यसले भावनालाई सम्हाल्न, चोट भुलेर अघि बढ्न र पुनः आशाको संसार बुन्न अभ्यस्त बनाउँछ। यस्तो गीतात्मक अभिव्यक्तिले जीवनप्रतिको दृष्टिकोणलाई अझ गहिरो, सहिष्णु र प्रेरणादायी बनाउँछ।
यसै गीतको अर्को अंश “ओइलाएको मनभित्र नयाँ सोच पलायो, चुनौतीको सामना गर्न ऊर्जा दिलायो, पौरखी यी हातमा भाग्य जुरायो, सकारात्मक बन्दै हिँड्न बाटो देखायो” ले निराश मनमा आशाको किरण जाग्ने प्रेरणादायी सन्देश दिने प्रयास गरिएको छ। जीवनका कठिन घडीहरूमा जब मन मलीन हुन्छ, तब एउटा सानो सकारात्मक सोचले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने भाव यस अंशमा रहेको छ। चुनौतीहरूको सामना गर्न हामीभित्रै रहेको ऊर्जा र आत्मबलले नै मद्दत गर्दछ, यसले हामीमा हिम्मत र विश्वास जगाउँछ। मेहनती र पौरखी हातहरूले आफ्नो भाग्य आफै निर्माण गर्न सक्छन् भन्ने आशयले कर्मको महत्वलाई उजागर गरिएको छ। गीतको अन्तिम पंक्तिले सकारात्मक सोच र दृढ इच्छाशक्तिले जीवनको मार्ग उज्यालो बनाउँछ भन्ने सन्देश दिन्छ। यसले जीवनका अँध्यारो मोडहरूमा पनि उज्यालो खोज्दै अघि बढ्न अभिप्रेरित गर्छ, र नकारात्मकता होइन, सकारात्मकतामार्फत जीवन जिउनु नै सफलता र सन्तुष्टिको आधार हो भन्ने भाव सम्प्रेषण गरेको छ।
गीत का शव्दहरु त यसरी तयार भएका थिए तर गीतमा कसको स्वर राख्ने यो प्रश्न साह्रै पेचिलो बनेको थियो । अन्तत यो गीत आध्यात्मिक, भावुक र प्रेरणादायी स्वरकी गायिका आनी छोइंग डोल्माको स्वरमा स्वरांकन हुनु उपयुक्त हुने देखियो । आनी डोल्माको स्वरमा आत्मा छुने शक्ति, गहिरो अनुभूति र शान्तिपूर्ण ऊर्जा हुन्छ, जसले गीतका शब्दहरूलाई केवल संगीत नभई जीवन दर्शनजस्तै अनुभूत गराउँछ। यो गीतमा समेटिएको संघर्ष, आशा, सकारात्मकता र आत्मबलको भावना उनका स्वरको गम्भीरता र आध्यात्मिक भावनासँग पूर्ण रूपमा मेल खाएको छ। आनी डोल्माको गायन शैलीले गीतका प्रत्येक पंक्तिमा जीवनको सार भरेको त्यो पनि कृत्रिम आवरणविनाको सरल र शुद्ध प्रस्तुति मार्फत। साथै, उनको व्यक्तित्व नै एउटा सन्देश हो अन्तर्मुखी शक्ति, सहनशीलता र आध्यात्मिक उन्नतिको प्रतीक। यस्तो प्रेरणादायी गीतलाई गायन मार्फत आत्मामा पुर्याउने क्षमता आनी डोल्मामै छ, त्यसैले यो गीत उनीकै स्वरमा जीवन्त हुने विश्वासको साथ उनलाइ गायिकाको रुपमा चयन गरिएको हो।
गीतको शव्द आफैमा शक्तिशाली हुन त सक्दछ तर त्यसमा थप प्राण भर्ने काम संगीत र गायनले गर्दछ । यो कामका लागि संगीतकार कीर्ती न्यौपाने र गायिका आनी छोइंग डोल्मावाट पूरा त गराइयो यसमा थप जीवन दिन म्यूजिक भिडियोका लागि उपयुक्त कलाकारको आवश्यकता पर्नु स्वभाविकै थियो ।गायिका आनी छोइंग डोल्माको चयन जस्तै यो काम पनि त्यति सजिलो थिएन । गीतमा जीवनका आरोह–अवरोह, पीडा–सहनशीलता, आत्मबल र सकारात्मक सोचको भाव समेटिएको छ, जसलाई शारीरिक हाउभाउ, भावभंगी र आत्मीय प्रस्तुतिबाट दर्शकसम्म पुर्याउने कार्य अभिनयमार्फत हुन्छ। मिथिला शर्माको अभिनय कला अनुभूतिपूर्ण, गम्भीर र आत्मसाथ हुने खालको छ, जसले गीतको मर्मलाई अझ प्रगाढ बनाइदिन्छ। उनी अभिनय मात्र होइन, अनुभूतिको प्रस्तोता पनि हुन् जसले दुःख लुकाएर हास्ने, मौन पीडालाई अभिव्यक्त गर्ने र जीवनको तितामिठा पाटोलाई कलात्मक रूपमा चित्रण गर्ने अद्वितीय क्षमता राख्छिन्। गीतको गहिराइ, आनी छोइंग डोल्माको स्वरको आध्यात्मिक ऊर्जा, र मिथिला शर्माको संवेदनशील अभिनयले भिडियोलाई भावनात्मक, प्रेरणादायी र कलात्मक उत्कृष्टता प्रदान गरेको छ। त्यसैले, यो भूमिकामा उनलाई रोजिनु गीतको सन्देशलाई प्रभावशाली ढंगले जीवन्त तुल्याउने प्रयास पनि थियो। यसमा म्यूजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेतको योगदान पनि महत्वपूर्ण रह्यो ।
माथि उल्लेखित गीतका सबै अंशहरू र आनी छोइंग डोल्माको प्रेरणादायी स्वरको संयोजनले यो गीतलाई अत्यन्तै सकारात्मक, चेतनात्मक र जीवनमूल्यमा आधारित बनाएको छ। “जिन्दगीको पाठशालाले धेरै पढायो…” भन्ने आरम्भदेखि अन्तिम अंशसम्म गीतले जीवनलाई शिक्षक मान्दै हरेक पीडा, असफलता र चुनौतीलाई आत्मविकासको अवसरको रूपमा ग्रहण गर्न सिकाउँछ। “बाधा विघ्न आउंछन धेरै नमानी रत्ति…” भन्ने अंशले धैर्य र आत्मसंयमको सन्देश दिन्छ भने “ओइलाएको मनभित्र नयाँ सोच पलायो…” भन्ने भावले नकारात्मक अवस्थाभित्र पनि पुनर्जागरणको सम्भावना देखाउँछ। यी पंक्तिहरूले जीवन संघर्षपूर्ण भए पनि त्यसमा लुकेका उज्यालो मार्गहरू पहिचान गर्न प्रेरित गर्छन्। आनी डोल्माको शान्त, गहिरो र आत्मीय स्वरले यी शब्दहरूलाई हृदयसम्म पुर्याउने शक्ति दिन्छ, जसले गीत सुन्ने व्यक्तिमा साहस, आशा र सकारात्मक सोचको ऊर्जा भरिन्छ। समग्रमा, यो गीतले जीवनलाई स्वीकार्ने, आत्मबल विकास गर्ने, दुःख र बाधाबीच पनि मुस्कुराउँदै अघि बढ्ने सकारात्मक सन्देश दिन्छ जुन आजको समयका लागि अत्यन्तै आवश्यक छ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्





























