निजामती कर्मचारी अस्पतालको सिटी स्क्यान सेवा नै बन्द
वि.सं.२०८३ वैशाख १७ बिहीवार
shares
काठमाडौं । निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान मेसिन विग्रिएर करिब ४ महिनादेखि सञ्चालन भएको छैन ।
अस्पताल स्रोतका अनुसार सिटी स्क्यान बन्द हुँदा अस्पतालले प्रत्यक्ष रूपमा दैनिक करिब २ लाख रुपैयाँ आम्दानी गुमाइरहेको छ। साथै बिरामीहरूलाई अन्य अस्पतालमा रिफर गर्ने गरेकोमा अप्रत्यक्ष रूपमा थप एक लाख रुपैयाँसम्मको दैनिक अप्रत्यक्ष नोक्सानी हुने गरेको छ। यस आधारमा मासिक रूपमा प्रत्यक्ष र अप्रत्यक्ष गरी १ करोड रुपैयाँभन्दा बढी क्षति भइरहेको अनुमान गरिएको छ।
सरकारी कर्मचारी लक्षित उक्त अस्पतालमा कर्मचारी र सर्वसाधारणलाई सहुलियत दरमा सेवा दिइने व्यवस्था भए पनि लामो समयसम्म सिटी स्क्यान जस्तो अत्यावश्यक सेवा बन्द रहनुले व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
अर्कोतर्फ, अस्पतालले आफ्नै सेवा सञ्चालन नगरी नजिकका निजी अस्पताल जस्तै एभरेस्ट अस्पताल लगायतमा बिरामी रिफर गर्ने र त्यसबाट कमिसन लिने गरेको आरोप समेत लागेको छ। यसले अस्पतालका ब्यवस्थापन कति आर्थिक चलखेल गरि निजि अस्पताल हरु संग मिलेका त छैनन भन्ने आशंका बलियो बनाएको छ।
यस विषयमा अस्पतालका उपसचिव अच्युतराज रेग्मीलाई जिज्ञासा राख्दा उनले सिटी स्क्यान बिग्रिएको स्वीकार गर्दै मर्मतका लागि टेन्डर आह्वान गरी विदेशबाट प्राविधिक बोलाइसकेको दाबी गरेपनि सम्बन्धित शाखामा बुझ्दा तेस्तो पाइएको छैन। उनले छिट्टै मर्मत हुन्छ भने पनि मेसिन कसरी बिग्रिएको भन्नेबारे आफूलाई स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिए।
महिनौँदेखि थन्किएको अत्यावश्यक उपकरणबारे जिम्मेवार अधिकारी नै अनभिज्ञ देखिनु र समयमै मर्मतमा पहल नहुनुले व्यवस्थापनको कमजोरी उजागर भएको सरोकारवालाहरूको भनाइ छ। साथै, उपकरण बिग्रीएको नाममा अन्य अस्पताल संग मिलेमतो गरि आर्थिक चलखेल वा नयाँ मेसिन खरिद गर्ने रणनीति समेत हुनसक्ने आशंका गरिएको छ।
त्यस्तै अस्पताल को अत्यावस्यक औषधि, उपकरण तथा सर्जिकल सामाग्री खरिद प्रकृयाहरु एकदम ढिलो भईरहेको समेत पाइएको छ। भईसकेको खरिद प्रकृया सम्झौता हुन ढिलाई र केही रद्द भई पुन बोलपत्र आह्वान भै खरिद को चरणमा रहेको पाईएको छ।





























