सांसद सुमन रायमाझीविरुद्ध पक्राउ पुर्जी, बैंकिङ कसुरमा उजुरी
वि.सं.२०८२ असार ८ आइतवार
shares
काठमाडौँ । लुम्बिनी प्रदेशकी सांसद तथा जनमत पार्टीकी समानुपातिक प्रतिनिधि सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
पर्सा जिल्ला अदालतले प्रहरीको आग्रहअनुसार २०८२ साल जेठ १६ गते रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतको आदेशअनुसार असार ३ गते पर्सा प्रहरीले बर्दिया प्रहरीलाई रायमाझीलाई पक्राउ गरी अदालतमा पेश गर्न पत्राचारसमेत गरेको छ । तर बर्दिया प्रहरीका अनुसार हालसम्म पत्र कार्यालयमा पुगेको छैन ।
रायमाझीमाथि पर्सा जिल्लाको पोखरियाकी आशा कुमारी चौहानले बैंकिङ कसुर अन्तर्गत उजुरी दर्ता गराएकी थिइन् । उजुरी अनुसार रायमाझीले चौहानसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएको र त्यसको सट्टा चेक दिएकी थिइन् । तर, बैंकमा चेक साट्न जाँदा खातामा पर्याप्त रकम नभएकाले चेक बाउन्स भएको थियो ।
हाल रायमाझी फरार रहेको भन्दै प्रहरीले उनको स्थायी ठेगाना बर्दियाको गुलरिया नगरपालिका–५ स्थित निवासमा पुगेर खानतलासी तथा पक्राउ प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
यस प्रकरणले एक प्रदेश सांसदविरुद्धको कानुनी प्रक्रिया र बैंकिङ अनुशासनको गम्भीरतालाई पुनः सतहमा ल्याएको छ ।































